अकल्याण्ड। आगामी शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी साता न्युजिल्याण्डको औपचारिक भ्रमणमा आउने भएका छन्। प्रधानमन्त्री मोदीको ४० वर्षपछि भारतबाट हुन लागेको प्रधानमन्त्री स्तरिय भ्रमण हो ।
न्युजिल्याण्ड सरकारले जुलाई १० मा हुने मोदीको भ्रमणलाई आधिकारिक रूपमा पुष्टि गर्दै यसलाई दुई देशबीचको सम्बन्धमा ऐतिहासिक अवसरका रूपमा वर्णन गरेको छ।
सरकारले सार्वजनिक गरेको कार्यक्रमअनुसार प्रधानमन्त्री मोदी जुलाई १० (शुक्रबार) अकल्याण्ड आइपुग्नेछन् भने जुलाई ११ (शनिबार) फर्कने छन् । न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले भ्रमणको स्वागत गर्दै यो करिब चार दशकपछि कुनै भारतीय प्रधानमन्त्रीले न्युजिल्याण्डको भ्रमण गर्न लागेको पहिलो अवसर भएको बताए। उनका अनुसार यस भ्रमणले न्युजिल्याण्ड–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनुका साथै आर्थिक, व्यापारिक तथा रणनीतिक सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री लक्सनले जारी गरेको वक्तव्यमा दुई देशबीचको साझेदारीलाई अझ सुदृढ बनाउने, आर्थिक समृद्धि प्रवर्द्धन गर्ने र क्षेत्रीय सुरक्षामा सहकार्य विस्तार गर्ने दिशामा यो भ्रमण महत्वपूर्ण हुने उल्लेख गरेका छन्।
उनले हालै हस्ताक्षर भएको न्युजिल्याण्ड–भारत स्वतन्त्र व्यापार सम्झौता ९एफटीए० ले द्विपक्षीय सम्बन्धमा नयाँ अध्याय सुरु गरेको उल्लेख गर्दै यसबाट न्युजिल्याण्डमा रोजगारी सिर्जना, निर्यात विस्तार तथा आर्थिक वृद्धिमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
भ्रमणका क्रममा प्रधानमन्त्री मोदी र प्रधानमन्त्री लक्सनबीच द्विपक्षीय भेटवार्ता हुने अपेक्षा गरिएको छ। भेटमा व्यापार, लगानी, शिक्षा, कृषि, प्रविधि, नवीकरणीय ऊर्जा, सुरक्षा सहकार्य तथा हिन्द–प्रशान्त क्षेत्रीय साझेदारीलगायतका विषयमा छलफल हुने अनुमान गरिएको छ। न्युजिल्याण्डमा करिब तीन लाखभन्दा बढी भारतीय मूलका नागरिक बसोबास गर्दै आएका छन्।
