भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकी सेनाले न्यूयोर्क ल्याएको छ । उनीहरूलाई न्यूयोर्क राज्यस्थित स्टिवार्ट एयर नेशनल गार्ड बेसमा अवतरण गराएपछि हेलिकोप्टरमार्फत म्यानहट्टनस्थित ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेसन ९डीईए० को कार्यालयमा लगिएको थियो । त्यसपछि दुवैलाई ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा राखिएको अमेरिकी स्रोतले जनाएका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत राष्ट्रपति मदुरोको आँखामा पट्टी बाँधिएको तस्बिर सार्वजनिक गरेका थिए । उक्त तस्बिर सार्वजनिक गर्दै ट्रम्पले मदुरो दम्पतीलाई ‘इवो जिमा’ नामक युद्धपोतमार्फत न्यूयोर्क ल्याइँदै गरेको दाबी गरेका थिए ।

अमेरिकी प्रशासनले मदुरोमाथि लागूऔषध तस्करी, संगठित अपराध र आतंकवादी समूहलाई संरक्षण दिएको आरोप लगाउँदै आएको छ । ती अभियोगका आधारमा उनलाई अमेरिकामा ल्याई कानुनी प्रक्रिया अघि बढाइने संकेत दिइएको छ । यद्यपि, अमेरिकी न्याय मन्त्रालयले औपचारिक अभियोग र अदालतमा पेशीसम्बन्धी विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

यस घटनापछि भेनेजुएलामा तीव्र राजनीतिक प्रतिक्रिया देखिएको छ । उपराष्ट्रपति डेल्सी रोड्रिग्जले अमेरिकी कारबाहीलाई गैरकानुनी र सार्वभौमसत्तामाथिको गम्भीर उल्लंघनको संज्ञा दिँदै राष्ट्रपति र प्रथम महिलाको सुरक्षाबारे स्पष्ट जानकारी दिन अमेरिकासँग माग गरेकी छन् । भेनेजुएला सरकारले अन्तर्राष्ट्रिय समुदायलाई घटनाप्रति ध्यान दिन र निष्पक्ष धारणा बनाउन आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय स्तरमा पनि घटनाले चासो बढाएको छ । रुस र चीनले अमेरिकी कदमको निन्दा गर्दै मदुरो दम्पतीलाई तत्काल रिहा गर्न माग गरेका छन् भने केही युरोपेली मुलुकहरूले संयम अपनाउन र कूटनीतिक समाधान खोज्न आग्रह गरेका छन् ।