अकल्याण्ड । न्युजिल्याण्डको सबैभन्दा ठूलो अस्पताल अकल्याण्ड अस्पतालको आकस्मिक विभागमा बिरामीको चाप निरन्तर बढ्दै जाँदा उपचारमा ढिलाइ मात्र होइन, बिरामीको सुरक्षामाथि समेत जोखिम बढेको चिकित्सकहरूले बताएका छन्। लामो समयदेखि जारी अत्यधिक भीडभाडका कारण आकस्मिक विभागमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमा समेत निराशा र मानसिक दबाब बढ्दै गएको छ।

स्वास्थ्य न्युजिल्याण्ड (Health NZ) बाट सार्वजनिक सूचना ऐन (Official Information Act) अन्तर्गत प्राप्त तथ्यांकअनुसार सन् २०२५ मा अकल्याण्ड अस्पतालको आकस्मिक विभागले अत्यधिक चाप व्यवस्थापन गर्न बनाइएको स्थानीय ‘एस्केलेसन पाथवे’ का मापदण्ड वर्षका अधिकांश दिनमा पूरा गरेको थियो।

अकल्याण्ड अस्पतालमा अन्य अस्पतालमा प्रयोग हुने ‘कोड रेड’ प्रणाली लागू छैन। यसको सट्टा आकस्मिक विभागमा बिरामीको चाप अत्यधिक बढेपछि थप चिकित्सकीय तथा व्यवस्थापकीय कदम चाल्नुपर्ने संकेत दिने ‘एस्केलेसन पाथवे’ प्रयोग गरिन्छ।

यो प्रक्रिया तीनमध्ये कुनै एक अवस्था देखिएपछि सक्रिय हुन्छ। आकस्मिक विभागमा ३० जनाभन्दा बढी बिरामी चिकित्सक वा विशेषज्ञ नर्सले प्रारम्भिक जिम्मेवारी लिन अर्थात् ‘साइन अन’ गर्न पर्खिरहेका भए, वयस्क आकस्मिक विभागको क्षमता १२० प्रतिशतभन्दा माथि पुगेमा वा चार वा त्यसभन्दा बढी एम्बुलेन्सले बिरामी ल्याएको १५ मिनेटभित्र अस्पताललाई बिरामी हस्तान्तरण गर्न नसकेमा अस्पतालले थप व्यवस्थापकीय तथा चिकित्सकीय प्रतिक्रिया सुरु गर्नुपर्ने हुन्छ।

Health NZ को तथ्यांकले अकल्याण्ड अस्पतालको आकस्मिक विभागमा यस्तो अवस्था सामान्य घटना बन्दै गएको देखाउँछ। सन् २०२५ मा ३० जनाभन्दा बढी बिरामी ‘साइन अन’ का लागि पर्खिएको अवस्था २८१ दिन अर्थात् वर्षका ७७ प्रतिशत दिनमा देखिएको थियो। त्यस्तै, चार वा त्यसभन्दा बढी एम्बुलेन्सले १५ मिनेटभित्र बिरामी हस्तान्तरण गर्न नसकेको अवस्था २८६ दिन अर्थात् ७९ प्रतिशत दिनमा देखिएको थियो। आकस्मिक विभागको क्षमता १२० प्रतिशतभन्दा माथि पुगेको अवस्था ११७ दिन अर्थात् ३२ प्रतिशत दिनमा देखिएको थियो।

मासिक तथ्यांक हेर्दा केही महिनामा समस्या झनै गम्भीर देखिन्छ। जनवरीमा ९४ प्रतिशत दिन, फेब्रुअरीमा ९३ प्रतिशत दिन र जुनमा ९३ प्रतिशत दिन ३० जनाभन्दा बढी बिरामी ‘साइन अन’ का लागि पर्खिरहेका थिए। एम्बुलेन्स हस्तान्तरणको सीमा जनवरीमा ९४ प्रतिशत, फेब्रुअरीमा ९६ प्रतिशत र जुनमा ९३ प्रतिशत दिनमा पार भएको थियो।

त्यस्तै, आकस्मिक विभागको क्षमता १२० प्रतिशतभन्दा माथि पुगेको अवस्था फेब्रुअरीमा ५७ प्रतिशत दिन, डिसेम्बरमा ४८ प्रतिशत र अक्टोबरमा ४३ प्रतिशत दिन देखिएको थियो।

तर Health NZ ले यी सीमा कति समयसम्म पार भएका थिए भन्ने विवरण उपलब्ध नभएको जनाएको छ। कुनै दिन तोकिएको सीमा पार भएपछि त्यसले थप कारबाही वा व्यवस्थापनमा कस्तो असर पारेको थियो भन्ने अभिलेख पनि पूर्ण रूपमा उपलब्ध नभएको उसले जनाएको छ।

अकल्याण्ड अस्पतालका आकस्मिक चिकित्सा विशेषज्ञ डा. माइक निकोल्सले भने तथ्यांकले समस्या देखाए पनि यसले आकस्मिक विभागको वास्तविक अवस्थाको पूर्ण तस्वीर नदिने बताएका छन्। उदाहरणका लागि, विभागको क्षमता १२० प्रतिशतभन्दा माथि पुगेको भनिए पनि त्यो १२१ प्रतिशत थियो कि १५० प्रतिशत, वा कति समयसम्म त्यस्तो अवस्था रह्यो भन्ने तथ्यांकमा खुल्दैन। त्यसैगरी ३० जनाभन्दा बढी बिरामी पर्खिरहेका थिए भन्नाले ३१ जना केही मिनेट मात्र पर्खिएका हुन् कि ५० जना आठ घण्टासम्म पर्खिएका हुन् भन्ने पनि स्पष्ट हुँदैन।

तर तथ्यांकको सीमितताका बाबजुद पनि आकस्मिक विभागमा देखिएको भीडभाड बिरामीका लागि जोखिमपूर्ण रहेकोमा कुनै शंका नरहेको निकोल्सले बताए।

उनका अनुसार आकस्मिक विभागमा अत्यधिक भीडभाड हुँदा बिरामीमा प्रतिकूल असर पर्ने र गम्भीर अवस्थामा मृत्युको जोखिमसमेत बढ्न सक्ने प्रमाणहरू छन्। ‘एस्केलेसन पाथवे’ पनि स्वास्थ्य प्रणाली जोखिमपूर्ण अवस्थामा पुगेको बेला सबै सम्बन्धित पक्षलाई तत्काल सचेत गराएर थप कदम चाल्नका लागि बनाइएको हो।

निकोल्सले अकल्याण्डको आकस्मिक विभागलाई समग्र स्वास्थ्य प्रणालीको ‘क्यानरी इन द कोल माइन’ अर्थात् अन्य क्षेत्रमा समस्या आउनुअघि संकेत दिने स्थानका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार स्वास्थ्य प्रणालीको अन्य कुनै भागमा बिरामीको चाप, बेडको अभाव, जनशक्तिको कमी वा उपचारमा ढिलाइ हुँदा त्यसको प्रत्यक्ष दबाब अन्ततः आकस्मिक विभागमा देखिन्छ।

“आकस्मिक विभाग एउटा जटिल स्वास्थ्य प्रणालीको हिस्सा हो। स्वास्थ्य प्रणालीका अन्य भागमा केही राम्रोसँग भइरहेको छैन भने त्यसको प्रभाव हामीले आकस्मिक विभागमा देख्छौँ,” उनले भने।

उनका अनुसार अहिलेको मुख्य समस्या एक दिन वा केही दिनको भीड मात्र होइन। जनवरी, फेब्रुअरी र जुनजस्ता महिनामा लगभग हरेक दिन तोकिएको सीमा पार हुनु भनेको समस्या दीर्घकालीन बन्दै गएको संकेत हो।

आकस्मिक विभागमा आउने बिरामीले कहिलेकाहीँ घण्टौँसम्म प्रतीक्षा गर्नुपर्ने अवस्था रहेको उनले बताए। कतिपय बिरामीलाई उच्च गुणस्तरको स्वास्थ्य सेवा प्रदान गर्नका लागि डिजाइन नगरिएका स्थानमा राखेर उपचार वा मूल्यांकन गर्नुपर्ने अवस्था पनि आउने गरेको उनको भनाइ छ।

“मानिसहरू आकस्मिक विभागमा आउँदा धेरै समय पर्खिरहेका हुन्छन्। कहिलेकाहीँ घण्टौँसम्म। हामी उनीहरूलाई आवश्यक स्तरको राम्रो उपचार दिन सक्षम हुँदैनौँ,” निकोल्सले भने।

यसको असर बिरामी र उनीहरूका परिवारमा मात्र नभई स्वास्थ्यकर्मीमा पनि परेको छ। आकस्मिक विभागमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरू चुनौतीपूर्ण अवस्थामा काम गर्न तयार हुने भए पनि बिरामीलाई आफूले दिन चाहेको स्तरको उपचार दिन नसक्ने अवस्था बारम्बार दोहोरिँदा उनीहरूमा निराशा बढ्ने निकोल्सले बताए।

“हामीलाई बिरामीले आवश्यक उपचार पाउनुपर्छ भन्ने थाहा छ, तर त्यो दिन नसक्नु कर्मचारीका लागि पनि निकै निरुत्साहित बनाउने अवस्था हो,” उनले भने।

अत्यधिक भीडभाडले बिरामी र परिवारमा पनि तनाव बढाएको उनको भनाइ छ। अधिकांश बिरामी र परिवारले स्वास्थ्यकर्मीको अवस्था बुझ्ने गरे पनि लामो प्रतीक्षा र उपचारमा हुने ढिलाइका कारण कहिलेकाहीँ उनीहरूको तनाव पनि नियन्त्रण बाहिर जाने गरेको उनले बताए।

सरकारले आकस्मिक विभागमा आउने ९५ प्रतिशत बिरामीको बसाइ छ घण्टाभन्दा कम बनाउने लक्ष्य अघि सारेको छ। तर निकोल्सका अनुसार छ घण्टे लक्ष्य स्वास्थ्य प्रणालीको अवस्था बुझ्ने एउटा सूचक मात्र हो। एउटै संख्याले जटिल स्वास्थ्य प्रणालीको सम्पूर्ण अवस्था मापन गर्न नसकिने उनको भनाइ छ।

उनका अनुसार आकस्मिक विभागले छ घण्टे लक्ष्यमा सुधार गरे पनि त्यसले भीडभाडको समस्या समाधान भयो भन्ने हुँदैन। उपचारको समय घटाउन सकिए पनि बेडको अभाव, एम्बुलेन्स हस्तान्तरणमा ढिलाइ र उपचारका लागि प्रतीक्षारत बिरामीको संख्या जस्ता समस्या एकैपटक रहन सक्छन्।

Health NZ का अकल्याण्ड सञ्चालनसम्बन्धी समूह निर्देशक डा. माइकल शेफर्डले भने तोकिएका सीमा पार भएको अवस्थालाई ‘ब्रेच’ वा अस्पतालको कार्यसम्पादन असफल भएको रूपमा व्याख्या गर्नु उचित नहुने बताएका छन्।

उनका अनुसार यी सीमा कर्मचारीलाई स्वास्थ्य सेवा सञ्चालन व्यवस्थापन गर्न सहयोग पुर्‍याउने ‘अपरेसनल म्यानेजमेन्ट टुल’ हुन्। सीमा केही समयका लागि मात्र पार भएको हुन सक्छ र त्यसले थप व्यवस्थापन आवश्यक रहेको संकेत गर्छ, तर त्यसलाई अस्पतालको समग्र कार्यसम्पादन कमजोर भएको प्रमाणका रूपमा लिन नहुने उनले बताए।

यस्ता सीमा पुगेपछि वा पार भएपछि कर्मचारीको संख्या र तैनाथी समायोजन गर्ने, कामको प्राथमिकता परिवर्तन गर्ने, बिरामीको प्रवाह व्यवस्थापन गर्ने तथा अस्पताल भर्ना प्रक्रियाको समीक्षा गर्नेजस्ता कदम चाल्न सकिने Health NZ ले जनाएको छ।

शेफर्डका अनुसार अकल्याण्ड अस्पतालको आकस्मिक विभागले न्युजिल्याण्ड र अन्तर्राष्ट्रिय स्तरका अन्य आकस्मिक विभागजस्तै उच्च बिरामी चाप सामना गरिरहेको छ। Health NZ ले बिरामीको प्रवाह सुधार गर्ने, उपचारमा हुने ढिलाइ घटाउने, स्वास्थ्यकर्मीको क्षमता बलियो बनाउने र एम्बुलेन्सबाट अस्पतालमा बिरामी हस्तान्तरण समयमै हुने व्यवस्था सुधार गर्न विभिन्न पहल गरिरहेको जनाएको छ।

तर बिरामी अधिकारका क्षेत्रमा काम गर्ने Patient Voice Aotearoa ले भने Health NZ को तथ्यांकलाई अझ गम्भीर रूपमा हेर्नुपर्ने बताएको छ।

संस्थाका अध्यक्ष माल्कम मुल्होल्यान्डले तथ्यांकले देशका आकस्मिक विभागहरू “असफलताको अवस्थामा” पुगेको देखाउने दाबी गरे। उनका अनुसार बिरामीले समयमै उपचार नपाउनु, अस्पतालमा पर्याप्त बेड नहुनु र एम्बुलेन्सले बिरामी अस्पतालमा हस्तान्तरण गर्न लामो समय पर्खनुपर्ने अवस्था क्रमशः सामान्य बन्दै गएको छ।

उनले क्षेत्रीय अस्पतालहरूको अवस्था अझ कठिन हुन सक्ने बताए। जनशक्ति अभावका कारण केही क्षेत्रीय अस्पतालमा आकस्मिक विभाग सञ्चालनमै समस्या आउने गरेको उनको भनाइ छ।

Association of Salaried Medical Specialists की कार्यकारी निर्देशक सारा डाल्टनले Health NZ ले यस्तो अवस्थालाई ‘कोड रेड’, ‘कोड ब्ल्याक’, ‘एस्केलेसन पोइन्ट’ वा ‘ब्रेच’ जुनसुकै नाम दिए पनि वास्तविक समस्या परिवर्तन नहुने बताइन्।

उनका अनुसार तथ्यांक र आकस्मिक विभागमा कार्यरत वरिष्ठ चिकित्सकको अनुभव दुवैले एउटै कुरा देखाउँछन्—अस्पतालमा बिरामीको आवश्यकता धान्न पर्याप्त स्रोत र जनशक्ति छैन।

डाल्टनले आकस्मिक विभागमा आउने अधिकांश बिरामी सामान्य समस्या लिएर जीपीको सट्टा अस्पताल पुगेका मानिस मात्र नभएको बताइन्। उनीहरू अस्पतालमै मूल्यांकन गर्नुपर्ने र कतिपय अवस्थामा भर्ना गर्नुपर्ने अवस्थामा रहेका बिरामी हुने गरेको उनको भनाइ छ।

“यो केवल मानिसहरू जीपीकहाँ जानुको सट्टा अस्पताल आएका हुन् भन्ने होइन। यी अस्पतालमै उपचार र मूल्यांकन आवश्यक पर्ने गरी बिरामी भएका मानिस हुन्,” उनले भनिन्।

हरेक वर्ष यही विषयमा बहस दोहोरिए पनि समस्या समाधान नभएकोमा डाल्टनले असन्तुष्टि व्यक्त गरिन्।

“यो एउटा समयको तस्वीर मात्र होइन, निरन्तर चलिरहेको प्रवृत्ति हो,” उनले भनिन्।

अकल्याण्ड अस्पतालको तथ्यांकले न्युजिल्याण्डको आकस्मिक स्वास्थ्य सेवामाथि रहेको दबाबलाई फेरि सतहमा ल्याएको छ। सरकारसँग उपचार प्रतीक्षा समय घटाउने लक्ष्य र स्वास्थ्य सेवा सुधारका कार्यक्रम भए पनि अस्पतालमा बिरामीको बढ्दो चाप, बेडको सीमितता, एम्बुलेन्स हस्तान्तरणमा हुने ढिलाइ र जनशक्तिमाथिको दबाबले समस्या अझै गहिरो रहेको चिकित्सक तथा बिरामी अधिकारकर्मीहरूको भनाइ छ।

अहिलेको चुनौती केवल आकस्मिक विभागमा आउने बिरामीको संख्या घटाउने विषयमा सीमित छैन। अस्पतालमा बिरामी भर्ना भएपछि उनीहरूलाई वार्डमा सार्न सकिने बेडको उपलब्धता, सामुदायिक तथा प्राथमिक स्वास्थ्य सेवाको क्षमता, वृद्ध तथा दीर्घकालीन हेरचाहको व्यवस्था र स्वास्थ्यकर्मीको पर्याप्त उपलब्धतासँग पनि यो समस्या जोडिएको छ।

यसैले आकस्मिक विभागको भीडभाडलाई केवल अस्पतालभित्रको व्यवस्थापन समस्या भनेर हेर्नुभन्दा समग्र स्वास्थ्य प्रणालीको दबाबका रूपमा सम्बोधन गर्नुपर्ने देखिन्छ। चिकित्सक र स्वास्थ्यकर्मीहरूले अहिले देखिएको अवस्था दीर्घकालीन रूपमा सामान्य बन्दै गएमा त्यसको सबैभन्दा ठूलो असर समयमै आवश्यक उपचार पाउनुपर्ने बिरामीमै पर्ने चेतावनी दिएका छन्।