अकल्यान्ड — न्युजिल्याण्ड सरकारले नर्थल्यान्ड एक्सप्रेसवेको पहिलो खण्ड निर्माणका लागि महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ। वार्कवर्थ (Warkworth) देखि ते हाना (Te Hana) सम्म चार लेनको आधुनिक राजमार्ग निर्माण हुने भएको हो।
सरकारले यो परियोजनालाई ‘रोड अफ नेसनल सिग्निफिकेन्स’ (Road of National Significance) अन्तर्गतको प्राथमिक पूर्वाधार योजनाका रूपमा अघि बढाएको जनाएको छ। निर्माण सम्पन्न भएपछि यस सडकले यात्रालाई सुरक्षित, छिटो र भरपर्दो बनाउने विश्वास गरिएको छ।
प्रधानमन्त्री क्रिस्टोफर लक्सनले यो परियोजना न्युजिल्याण्डको इतिहासकै सबैभन्दा ठूलो पूर्वाधार योजनामध्ये एक हुने बताए। उनका अनुसार निजी क्षेत्रसँगको साझेदारीमा परियोजना कार्यान्वयन गर्दा करदाताको करिब २५१ मिलियन न्युजिल्याण्ड डलर बचत हुने अपेक्षा गरिएको छ।
लक्सनले वार्कवर्थ–ते हाना सडक खण्ड लामो समयदेखि ट्राफिक जाम, दुर्घटना र मौसमका कारण पटक–पटक बन्द हुने समस्याबाट प्रभावित रहेको उल्लेख गर्दै नयाँ चार लेनको राजमार्गले ती समस्याको दीर्घकालीन समाधान दिने बताए।
उनका अनुसार नयाँ एक्सप्रेसवेले यात्रु तथा मालवाहक सवारीसाधन दुवैका लागि सुरक्षित र निरन्तर सञ्चालनयोग्य सडक उपलब्ध गराउनेछ, जसले व्यापार, ढुवानी र क्षेत्रीय विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सरकारले परियोजनाले निर्माण अवधिमा हजारौँ रोजगारी सिर्जना गर्नुका साथै विशेषगरी नर्थल्यान्ड क्षेत्रको आर्थिक गतिविधिलाई नयाँ गति दिने विश्वास व्यक्त गरेको छ। त्यहाँका स्थानीय बासिन्दा र व्यवसायीहरूले लामो समयदेखि यस सडकको माग गर्दै आएका थिए।
सरकारले देशको आधारभूत पूर्वाधार सुदृढ गर्दै भविष्यको आर्थिक विकासलाई टेवा दिने उद्देश्यअनुसार सडक, यातायात र अन्य रणनीतिक परियोजनामा लगानीलाई निरन्तरता दिइने जनाएको छ।
