काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज–३, कप्तानगन्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति तथा दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत जारी गरेको सन्देशमा घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ। उहाँले प्रधानमन्त्रीका रूपमा मात्र नभई देशको एक जिम्मेवार नागरिकका रूपमा पनि उक्त घटनाबाट आफू अत्यन्त दुःखी भएको उल्लेख गर्दै पीडित परिवारको पीडाप्रति सरकार संवेदनशील रहेको बताउनुभयो।

प्रधानमन्त्रीले सरकारले मृतकका परिवारलाई न्याय तथा उचित क्षतिपूर्ति उपलब्ध गराउने र यस्ता घटना दोहोरिन नदिन दोषीमाथि कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट पार्नुभयो।

उहाँले सुरक्षाकर्मीको गोली लागेर नागरिकको मृत्यु हुनु र घाइते हुनु अत्यन्त गम्भीर विषय भएको उल्लेख गर्दै घटनाको अनुसन्धान प्रक्रिया सुरु भइसकेको जानकारी दिनुभयो। दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइने तथा सम्पूर्ण घटनाको गम्भीर समीक्षा गरी आवश्यक सुधारात्मक निर्णय लिइने उहाँको भनाइ छ।

प्रधानमन्त्री शाहले नागरिकलाई उत्तेजना, आक्रोश र प्रतिशोधको भावनाबाट टाढा रहँदै संयमता अपनाउन आग्रह गर्नुभएको छ। सामाजिक सद्भाव, आपसी विश्वास र धार्मिक सहिष्णुता कायम राख्न सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न उहाँले आह्वान गर्नुभयो।

उहाँले सरकारको पहिलो दायित्व नागरिकको सुरक्षा सुनिश्चित गर्नु, पीडितलाई न्याय दिलाउनु र दोषीलाई कानुनी दायरामा ल्याउनु रहेको उल्लेख गर्दै सो दायित्व पूरा गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीको कप्तानगन्ज घटनाको स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ। मङ्गलबार जारी विज्ञप्तिमार्फत उहाँले सुनसरीसहित पूर्वी नेपालका जिल्लामा उत्पन्न घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो।

उच्च संयमता अपनाउन सरकारको आग्रह

उता, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरी घटनापछि उत्पन्न परिस्थितिलाई दृष्टिगत गर्दै सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, धार्मिक सङ्घ–संस्था, सञ्चारमाध्यम तथा सर्वसाधारणलाई उच्च संयमता अपनाउन अपिल गरेको छ।

कार्यालयका प्रवक्ता हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा नेपालले सदियौँदेखि कायम राख्दै आएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कुनै पनि परिस्थितिमा कमजोर हुन नदिन सबै पक्षले जिम्मेवार भूमिका खेल्नुपर्ने उल्लेख गरिएको छ। सरकारले शान्ति, सुव्यवस्था, सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न सबैलाई संयमित, जिम्मेवार र सचेत भएर भूमिका निर्वाह गर्न आग्रह गरेको छ।