काठमाडौं। विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।

विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले प्रारम्भिक प्रमाणका आधारमा पौडेललाई थुनामा राख्न वा धरौटी मागेर मुद्दाको सुनुवाइ अघि बढाउन आवश्यक नदेखिएको ठहर गर्दै साधारण तारेखमा छाड्न आदेश दिएको हो।

अदालतले आदेशमा पौडेलको संलग्नता तत्काल उपलब्ध प्रमाणबाट पुष्टि नभएको, आरोपबारे उनले इन्कारी बयान दिएको तथा सहआरोपित दीपक भट्टसँग आर्थिक कारोबार गरेको वा कुनै सम्पत्ति तथा आर्थिक लाभ लिएको देखिने प्रमाण हालसम्म प्राप्त नभएको उल्लेख गरेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई गत असार ८ गते सुर्खेतबाट नियन्त्रणमा लिएको थियो। त्यसपछि पटक–पटक म्याद थप गरी उनीमाथि अनुसन्धान गरिएको थियो।

विशेष अदालतको पछिल्लो आदेशसँगै पौडेल अब थुनाबाहिरै बसेर मुद्दाको कानुनी प्रक्रिया सामना गर्नेछन् भने मुद्दाको अन्तिम टुंगो अदालतको नियमित सुनुवाइपछि लाग्नेछ।