काठमाडौं । भारतको कोलकातामा शनिबार हुने एलिट कन्टेन्डर सिरिज (ECS II) मा नेपालका चार जना मिक्स्ड मार्सल आर्ट्स (एमएमए) खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।
नेपालको प्रतिनिधित्व गर्दै लक एन रोल एमएमए का अस्बिन क्षेत्री, गोकुल खड्का र नवराज पराजुली तथा पोखराका सुनिल पुन रिङमा उत्रनेछन्।
प्रतियोगिताको सह–मुख्य भिडन्त (को–मेन इभेन्ट) मा सुनिल पुनले भारतका देवगुन मराण्डीसँग प्रतिस्पर्धा गर्नेछन्। यस्तै अस्बिन क्षेत्री र गोकुल खड्काले पनि भारतीय खेलाडीविरुद्ध प्रतिस्पर्धा गर्नेछन्। नवराज पराजुलीका प्रतिद्वन्द्वी भने अझै घोषणा गरिएको छैन।
प्रतियोगिताअघि शुक्रबार बिस्वा बंगला एक्जिबिसन सेन्टरमा सबै खेलाडीको आधिकारिक तौल परीक्षण सम्पन्न भएको आयोजकले जनाएको छ।
दुई वटा केजमा सञ्चालन हुने प्रतियोगितामा ५० वटा एमेच्योर एमएमए भिडन्त हुनेछन्। यस वर्षको सुरुआती संस्करणमा मिश्रित नतिजा निकालेका नेपाली खेलाडीहरू दोस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको प्रतिष्ठा उचाल्ने लक्ष्यसहित प्रतिस्पर्धामा उत्रिन लागेका छन्।
