काठमाडौं । नेपाली जनजीवन, साहित्य, संगीत र सपना सबैसँग रेल यात्रा जोडिँदै आएको छ। तर यात्रुवाहक रेलको सुविधा जनकपुरबाहेक अन्यत्र नहुँदा धेरैको रेलमा यात्रा गर्ने चाहना अझै अधुरै छ।

तर अब काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालन गर्ने योजनाले फेरि गति लिन थालेको छ। प्रक्रियागत कामहरू अघि बढ्दै गएमा आगामी केही वर्षभित्र करिब २७.५ किलोमिटर लामो मेट्रो रेल सेवा सञ्चालन हुन सक्ने देखिएको छ। काठमाडौं महानगरको नेतृत्वमा अघि बढाइएको यो योजना चरणबद्ध रूपमा अगाडि बढिरहेको छ।

राष्ट्रिय योजना आयोगले गत वैशाख २९ गते मेट्रो रेल निर्माणका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न बहुवर्षीय ठेक्का प्रक्रिया स्वीकृत गरेको थियो। त्यसैगरी अर्थ मन्त्रालयले पनि परामर्शदाता छनोट र डीपीआर तयारीका लागि सहमति दिइसकेको छ।

रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजनाले प्रस्तावित २७.५ किलोमिटर मेट्रो मार्गका लागि डीपीआर तयार गर्न अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनीहरूबाट आशयपत्र आह्वान गरिसकेको छ। आगामी केही दिनभित्र प्रस्ताव बुझाइने र छनोट भएका कम्पनीले करिब १८ महिनामा प्रतिवेदन बुझाउने अपेक्षा गरिएको छ।

तर डीपीआर सन्तोषजनक नभए वा प्राविधिक समस्या देखिए परियोजना अघि नबढ्न पनि सक्छ। डीपीआरमा परियोजनाको भौगोलिक मात्र होइन, सामाजिक, आर्थिक र वातावरणीय प्रभावसमेत अध्ययन गरिन्छ।

काठमाडौं उपत्यकामा मेट्रो रेलको चर्चा नयाँ होइन। सन् २०११ मा नै नेपाली र कोरियन कम्पनीको संयुक्त अध्ययनले उपत्यकाका पाँच रुटमा मेट्रो सञ्चालन गर्न सकिने सुझाव दिएको थियो। तीमध्ये रिङरोड, रत्नपार्क–महाराजगन्ज, कालिमाटी–नयाँबानेश्वर–सिनामंगल लगायतका रुट प्रस्तावित थिए।

तर लागत, प्राविधिक चुनौती र सांस्कृतिक सम्पदामा पर्ने प्रभावका कारण परियोजना अघि बढ्न सकेको थिएन। त्यसयता पनि हरेक वर्ष डीपीआरका लागि बजेट विनियोजन हुँदै आए पनि स्वीकृतिमा ढिलाइ हुँदा रकम प्रयोग हुन सकेको छैन।

यसपटक करिब २८ करोड रुपैयाँको स्वीकृति प्राप्त भएपछि परियोजनाले फेरि गति लिएको हो। प्रारम्भिक अनुमानअनुसार मेट्रो निर्माणमा खर्बौं रुपैयाँ लागत लाग्ने देखिन्छ।

सरकारले आगामी आर्थिक वर्षका लागि रेलवे बोर्डलाई करिब साढे २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। साथै रेल विभाग तथा सम्बन्धित निकायलाई रेलवे बोर्डमा समायोजन गरिएको छ।

यदि सबै प्रक्रिया सहज रूपमा अघि बढे काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालनको सपना आगामी वर्षहरूमा यथार्थ बन्न सक्ने अपेक्षा गरिएको छ।