नेपाली सांगीतिक क्षेत्रमा लोकप्रियता कमाएका चर्चित गायक सुजन चापागाईं आगामी जुलाई महिनामा न्युजिल्याण्ड आउने भएका छन् ।
लाखे ईभेन्ट्सको आयोजनामा उनको विशेष सांगीतिक कार्यक्रम आयोजना हुने भएको हो । पछिल्ला केही वर्षदेखि लगातार चर्चित नेपाली कलाकारहरूलाई न्युजिल्याण्ड ल्याउँदै आएको लाखे ईभेन्ट्सले यसपटक सुजन चापागाईंलाई दर्शकमाझ प्रस्तुत गर्न लागेको हो ।
नेपाली समुदायबीच सफल कार्यक्रम आयोजना गर्दै आएको आयोजकले यस कार्यक्रमलाई पनि विशेष बनाउने तयारी गरिरहेको छ । भावनात्मक तथा मौलिक गीतमार्फत छोटो समयमै नेपाली संगीत क्षेत्रमा फरक पहिचान बनाउन सफल सुजन चापागाईं युवापुस्तामाझ अत्यन्त लोकप्रिय छन् । उनका ‘गाला पुक्क’, ‘फूलथुङ्गा’ लगायतका गीतहरूले नेपाली संगीतप्रेमीहरूको मन जितेका छन् ।
यसअघि पनि लाखे ईभेन्ट्सकै आयोजनामा चर्चित नेपाली लोक–रक ब्याण्ड नेपथ्यले न्युजिल्याण्डमा आफ्नो प्रस्तुति दिएको थियो । उक्त कार्यक्रममा नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो भने दर्शकबाट व्यापक उत्साह र समर्थन प्राप्त भएको थियो ।
सुजन चापागाईंको न्युजिल्याण्ड कार्यक्रमको मिति, स्थान तथा टिकट सम्बन्धी विस्तृत जानकारी भने छिट्टै सार्वजनिक गरिने लाखेले जनाएको छ ।
