जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि जापानको मौसम विज्ञान एजेन्सीका अनुसार ७.४ म्याग्निच्युडको भूकम्प गएको हो। यो समाचार तयार पार्दासम्म भूकम्पका कारण कुनै मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन। तर, सुनामीको खतरा रहेको भन्दै तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानतर्फ जान जापान सरकारले आग्रह गरेको छ।
भूकम्पको केन्द्रविन्दु सान्रिकु तटमा करिब १० किलोमिटर गहिराइमा रहेको बताइएको छ। जापानको भूकम्पीय मापन स्केलमा यसलाई ‘५+’ रेकर्ड गरिएको छ।
भूकम्पपछि उत्तरपूर्वी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। मौसम विज्ञान एजेन्सीका अनुसार ३ मिटरसम्म अग्ला सुनामीका छालहरू आउने खतरा रहेको छ। एनएचकेका अनुसार केही स्थानमा सुनामीका छालहरू देखिन थालिसकेका छन्।
होक्काइडो, आओमोरी र इवाते प्रिफेक्चरका तटीय क्षेत्रहरू सबैभन्दा बढी प्रभावित हुन सक्ने अनुमान गरिएको छ। भूकम्पका कारण सार्वजनिक यातायातमा पनि असर परेको छ। क्योडो न्युजका अनुसार टोकियो र आओमोरीबीच सञ्चालन हुने बुलेट ट्रेन सेवा अस्थायी रूपमा रोकिएको छ।
अधिकारीहरूले क्षतिको विवरण सङ्कलन गरिरहेका छन् भने प्रभावित क्षेत्रमा उच्च सतर्कता कायम राखिएको छ। गत महिनामा मात्र दक्षिण प्रशान्त महासागरमा ७.३ म्याग्निच्युडको भूकम्प गएको थियो।
