पोखरा । पोखराको लेकसाइडमा आयोजित २१ औँ फेवा नयाँ वर्ष महोत्सव (स्ट्रिट फेस्टिभल) को अवसरमा पर्यटन दौड सम्पन्न भएको छ। नयाँ वर्ष २०८१ को स्वागतार्थ आयोजित उक्त दौडमा स्थानीय बासिन्दा, पर्यटक र खेलाडी गरी ३५ जनाभन्दा बढीको उत्साहजनक सहभागिता रहेको थियो।
दौडको मुख्य उद्देश्य पोखराको पर्यटन प्रवर्द्धन र स्वास्थ्य सचेतना फैलाउनु रहेको आयोजकले जनाएको छ। महोत्सवको मुख्य आकर्षणका रूपमा रहेको ३ किलोमिटर दौड खहरेबाट अम्बोटसम्म सञ्चालन गरिएको थियो।
पर्यटन दौड संयोजक प्रतिक पहारीका अनुसार यस कार्यक्रममा विश्वका २८ देशका पर्यटकहरूले सहभागिता जनाएका थिए। अष्ट्रेलिया, क्यानडा, युरोप, भारत र चीनलगायत विभिन्न मुलुकका पर्यटकहरूले उत्साहका साथ भाग लिएका थिए। नयाँ वर्षको अवसरमा विदेशी पाहुनाहरूलाई नेपाली संस्कृति र परम्परासँग परिचित गराउने तथा उनीहरूलाई अपनत्वको अनुभूति गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए।
यस महोत्सवले पोखराको पर्यटन क्षेत्रमा सकारात्मक ऊर्जा थपेको आयोजकको भनाइ छ। हाल पोखराका होटलहरूमा ९० देखि ९५ प्रतिशतसम्म अकुपेन्सी रहेको बताउँदै व्यवसायीहरू उत्साहित भएको संयोजक पहारीले उल्लेख गरे। विदेशी पर्यटकहरूलाई नेपाली संस्कृति र परम्परासँग जोड्ने महत्वपूर्ण माध्यमका रूपमा यो कार्यक्रम स्थापित भएको उनको भनाइ छ।
उनका अनुसार होटल एशोसिएशनको समन्वय र टिमवर्कका कारण कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सकिएको हो।
नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशका संयोजक मोडी लामिछानेका अनुसार केही समयअघिको राजनीतिक अस्थिरताका कारण सुस्ताएको पोखराको पर्यटन क्षेत्र पुनः लयमा फर्किन थालेको छ। ‘टुरिजम रिभाइभल’ कार्यक्रमअन्तर्गत विभिन्न अभियान सञ्चालन गरी पर्यटक आगमन बढाउने प्रयास भइरहेको उनले बताए।
उनका अनुसार ‘जाउँ है पोखरा’ अभियानसहित अन्य प्रचारात्मक कार्यक्रममार्फत पोखरालाई सुरक्षित गन्तव्यका रूपमा प्रस्तुत गरिएको छ। पछिल्लो समय पश्चिम एशियामा देखिएको द्वन्द्वका कारण युरोप र अमेरिकाबाट आउने पर्यटकको संख्या २० देखि २२ प्रतिशतले घटेको भए पनि भारत र दक्षिण–पूर्वी एशियाली मुलुकहरूबाट आउने पर्यटकको संख्या १५ देखि २० प्रतिशतले वृद्धि भएको छ। यसले समग्र पर्यटक आगमनलाई सन्तुलनमा राखेको उनले बताए।
पर्यटन बोर्डले अब दक्षिण–पूर्वी एशिया, जापान, कोरिया र अष्ट्रेलियामा लक्षित गरी पर्यटन प्रवर्द्धन अभियानलाई तीव्र बनाउने योजना अघि सारेको छ। नयाँ वर्षको पहिलो दिन पोखरामा पर्यटकहरूको उल्लेख्य भीड लाग्ने गरेको छ, जसले पोखराको पर्यटन गतिविधिलाई थप चलायमान बनाएको छ।


