काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेल ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता बालेन्द्र शाह लाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेका छन्। प्रतिनिधिसभामा स्पष्ट बहुमत हासिल गरेपछि संविधानको धारा ७६(१) बमोजिम शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलले संविधानअनुसार प्रतिनिधिसभाका सदस्य शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गरेको उल्लेख गरिएको छ। रास्वपाले एकल बहुमत ल्याएसँगै दलका नेता शाहलाई सरकार गठनको जिम्मेवारी दिइएको हो।

नेपालको संविधान २०७२ जारी भएपछि धारा ७६(१) अन्तर्गत प्रधानमन्त्री नियुक्त भएको यो पहिलोपटक हो। साथै, मधेसी समुदायबाट कुनै व्यक्ति प्रधानमन्त्री बन्ने ऐतिहासिक घटना पनि पहिलोपटक भएको छ।

काठमाडौं महानगरपालिकाका मेयर पदबाट राजीनामा दिएर फागुन २१ गते सम्पन्न निर्वाचनमा भाग लिएका शाह पहिलोपटक संसदमा प्रवेश गर्दै प्रधानमन्त्री बन्न सफल भएका छन्। उक्त निर्वाचनमा रास्वपाले १८२ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको थियो।

सरकार गठनको तयारीस्वरूप रास्वपाका सभापति रवि लामिछाने र शाहबीच मन्त्रिपरिषद् गठनबारे बिहीबार मध्यरातिसम्म छलफल भएको स्रोतले जनाएको छ।

नवनियुक्त प्रधानमन्त्री शाहले आज शुक्रबार मध्याह्न १२:३४ बजे शितल निवास मा पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ।