न्युजिल्याण्डमा पेट्रोलको मूल्य तीव्र रूपमा बढ्न थालेपछि सवारी चालकहरूले पेट्रोल पम्पहरूमा इन्धन भर्ने क्रम बढेको छ। त्यसलाई मध्यनजर गर्दै सरकार र सम्बन्धित अधिकारीहरूले इन्धन संकटको डरका कारण अनावश्यक रूपमा इन्धन खरिद गरी भण्डारण नगर्न आग्रह गरेका छन्।

अहिले पेट्रोलको औसत मूल्य प्रति लिटर ३ डलरभन्दा माथि पुगेको छ। यस महिनाको सुरुदेखि नै पेट्रोलको मूल्य झण्डै २० प्रतिशतले बढेको बताइएको छ। ग्यास्पीका प्रवक्ता माइक न्यूटनका अनुसार मार्च महिनाको सुरुमा पेट्रोलको औसत मूल्य करिब २ दशमलव ५० डलर प्रति लिटर रहेको थियो, तर पछिल्ला दिनहरूमा मूल्य तीव्र गतिमा बढिरहेको छ। इन्धन मूल्य बढ्नुको मुख्य कारण मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्व रहेको बताइएको छ।

इन्धनको माग अचानक बढेपछि केही पेट्रोल पम्पहरूमा अस्थायी रूपमा इन्धन सकिएको अवस्था पनि देखिएको छ। माइक न्यूटनका अनुसार खासगरी ‘गल’ कम्पनीका केही पम्पहरूमा इन्धन अभाव देखिएको छ। तर उनले यो आपूर्ति समस्या नभई ढुवानी व्यवस्थामा आएको अस्थायी ढिलाइका कारण भएको स्पष्ट पारेका छन्।

उनका अनुसार इन्धन ट्यांकरमार्फत पम्पसम्म ढुवानी गर्न केही समय लागेकाले अस्थायी समस्या देखिएको हो र आगामी केही दिनभित्र अवस्था सामान्य हुने अपेक्षा गरिएको छ।

न्युजिल्याण्डकी अर्थमन्त्री निकोला विलिसले सरकार इन्धनको मौज्दात अवस्थालाई नजिकबाट निगरानी गरिरहेको बताएकी छन्। उनका अनुसार हाल देशभित्र करिब ३२ दिन पुग्ने इन्धन भण्डारण रहेको छ भने थप २५ दिन पुग्ने इन्धन जहाजमार्फत न्युजिल्याण्डतर्फ आइरहेको छ।

उनले अहिले इन्धन उपलब्धतामा कुनै समस्या नभएको स्पष्ट पार्दै यदि आपूर्ति अवरुद्ध हुने संकेत देखिएमा सरकारलाई पूर्वसूचना प्राप्त हुने बताइन्। त्यस्तो अवस्था आएमा सरकारले आवश्यक योजना बनाउन पर्याप्त समय पाउने उनको भनाइ छ।

अर्थमन्त्री विलिसले पेट्रोलको मूल्य बढ्दा कामका लागि दैनिक सवारी प्रयोग गर्ने कामदार वर्गमा जीवनयापन खर्च बढ्ने भएकाले सरकारले यस विषयलाई गम्भीर रूपमा हेरिरहेको बताइन्। सरकारले आवश्यक परे लक्षित, अस्थायी र समयमै सहयोग गर्ने विकल्पबारे अध्ययन गरिरहेको पनि उनले जानकारी दिइन्।