केही वर्षदेखि विभाजित अवस्थामा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्ततः पुनः एकीकृत भएको छ। काठमाडौंमा जारी १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनले डा. हेमराज शर्माको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो।
‘एकता, लगानी र गौरव’ भन्ने नारासहित शनिबारदेखि काठमाडौंमा सुरु भएको महाधिवेशनले आइतबार मध्यरात नयाँ नेतृत्व चयन गरेको हो। लामो समयदेखि संघभित्र देखिएको विभाजनका कारण संस्था दुई धारमा विभाजित बनेको थियो।
एक पक्षको नेतृत्व डा. बद्री केसीले गरेका थिए भने अर्को पक्षको नेतृत्व महेश श्रेष्ठले गर्दै आएका थिए। दुवै पक्षबीच पटक–पटक एकताको प्रयास भए पनि सहमति जुट्न सकेको थिएन।
तर हालैको परिस्थितिमा पूर्वअध्यक्षहरूको पहलपछि दुवै समूह एकता महाधिवेशनका लागि तयार भएका थिए। त्यसका लागि गत मंसिरको दोस्रो साता दुवै समूहबीच १० बुँदे सहमति भएको थियो। सोही सहमतिअनुसार काठमाडौंमा एकता महाधिवेशन आयोजना गरिएको हो।
महाधिवेशनमा अध्यक्ष पदका आकांक्षी रोविन शेरचन र रविन बज्राचार्यले संस्थाको वृहत्तर हित र एकतालाई प्राथमिकता दिँदै उम्मेदवारी फिर्ता लिएपछि सर्वसम्मत नेतृत्व चयनको बाटो खुलेको एक पदाधिकारीले जानकारी दिए।
सहमति अनुसार अध्यक्षमा डा. हेमराज शर्मा चयन भएसँगै अन्य पदाधिकारीहरूको संरचना पनि सहमतिका आधारमा तय गरिएको छ। उम्मेदवारी फिर्ता लिएका शेरचन वरिष्ठ उपाध्यक्ष तथा बज्राचार्य उपाध्यक्ष चयन भएका छन्।
अन्य उपाध्यक्षहरूमा मलेसियाका खगेन्द्र न्यौपाने, बेलायतका रामशरण सिम्खडा, कतारका प्रवीन गुरुङ, बेलायतकी रोजिना प्रधान राई, दक्षिण कोरियाकी जुनु गुरुङ, अस्ट्रेलियाका महेन्द्र ओली, जाम्बियाका रोशन थापा, अस्ट्रेलियाका दिनेश पोखरेल र संयुक्त अरब इमिरेट्सका मनोजकुमार श्रेष्ठ रहेका छन्।
महिला उपाध्यक्षमा हङकङकी राधिका गुरुङ (टीका) तथा युवा उपाध्यक्षमा पोर्चुगलका भीमसेन थापा निर्विरोध चयन भएका छन्।
महासचिव पदमा बेल्जियमका गंगाधर गौतम र चेक गणतन्त्रका डा. चिरञ्जीवी खड्का चयन भएका छन्। उपमहासचिवमा जापानका टंकप्रसाद गैरे, बेलायतका दिनेशकुमार घिमिरे, अस्ट्रेलियाका डा. ज्ञानेन्द्र रेग्मी र जापानका पारसमणि पोखरेल चयन भएका छन्।
सचिव पदमा साउदी अरबका राजेन्द्र अर्याल, अस्ट्रेलियाका सुजन अधिकारी, क्यानडाका अभिमन्यु बस्नेत, बेल्जियमकी अनुजा प्रधान, अमेरिकाका बेदराज बस्नेत, क्यानडाका माधव दुलाल र जापानका सुपेन्द्र घिसिङ चयन भएका छन्।
महिला सचिवमा चीनबाट प्रतिनिधित्व गर्ने अमृता थापा (कञ्चन) तथा कोषाध्यक्षमा बेलायतका कृष्णप्रसाद तिमल्सिना चयन भएका छन्। सह–कोषाध्यक्षमा कतारका अब्दुल बासिद र मोहम्मद मुक्तदा मुसलमान तथा महिला सह–कोषाध्यक्षमा दक्षिण कोरियाकी गंगा खतिवडा रहेका छन्।
युवा संयोजकमा जापानका नवीन निउरे चयन भएका छन् भने मध्यपूर्व क्षेत्रीय संयोजकमा रमेश श्रेष्ठ, एसिया–प्रशान्त क्षेत्रीय संयोजकमा दीपक कँडेल र युरोप क्षेत्रीय संयोजकमा रोबोट लिम्बू निर्विरोध चयन भएका छन्।
विधान संशोधनको प्रक्रिया टुंगिएपछि सोमबार औपचारिक रूपमा नयाँ कार्यसमितिको घोषणा गर्दै महाधिवेशन समापन गरिने जनाइएको छ। संघको पुनः एकीकरणलाई विदेशमा रहेका नेपाली समुदायका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
