न्युजिल्याण्डको साउथल्याण्ड क्षेत्रमा हिजो अर्थात् मार्च १० मा भएको सवारी दुर्घटनामा नेपाली समुदायकी एक महिला र उनकी छोरीको दुःखद् निधन भएको छ।
साउथल्याण्ड नेपाली समाज का अनुसार हिजो ओटाउटाउ, साउथल्याण्ड मा भएको सवारी दुर्घटनामा नेपाली समुदायकी सदस्य अनीता पाठक र उनकी छोरीको ज्यान गएको हो।
समाजले आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै दिवंगत आमा–छोरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ। साथै स्वर्गीय अनिताका पति रमेश पाठक तथा सम्पूर्ण शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।
समाजले जारी गरेको सन्देशमा उक्त दुर्घटनाले पाठक परिवारमाथि ठूलो बज्रपात परेको उल्लेख गर्दै परिवार अहिले अत्यन्त कठिन परिस्थितिबाट गुज्रिरहेको जनाइएको छ। यस अवस्थालाई ध्यानमा राख्दै परिवारलाई केही राहत मिलोस् भन्ने उद्देश्यले स्वेच्छिक आर्थिक सहयोग संकलन सुरु गरिएको समाजले जनाएको छ।
समाजले सबै नेपाली समुदाय तथा शुभेच्छुकहरूलाई सक्दो सहयोग गर्न हार्दिक अनुरोध गर्दै सानो सहयोगले पनि शोकाकुल परिवारलाई ठूलो सहारा पुग्न सक्ने उल्लेख गरेको छ। साथै यस दुःखद् क्षणमा पाठक परिवारलाई आफ्नो प्रार्थना र सम्झनामा राख्नसमेत सबैमा अपिल गरिएको छ।
यसैबीच हिमालपारी मिडिया ले पनि स्वर्गीय पाठक आमा–छोरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
सहयोग गर्न इच्छुकहरूले निम्न बैंक खातामा सहयोग पठाउन सक्ने जनाइएको छ।
Account Name: Southland Nepalese Society Inc.
Account No: 03-1750-0453388-00
Ref: “Pathak Family”
