काठमाडौं — प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ देशभर करिब २५ प्रतिशत मतगणना सकिँदा पाँच वटा राजनीतिक दल मात्रै ‘राष्ट्रिय दल’ बन्ने सम्भावनामा देखिएका छन्। निर्वाचन आयोग नेपाल ले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीन प्रतिशतको थ्रेसहोल्ड कटाएका छन्।
नेपालको निर्वाचन प्रणालीअनुसार प्रतिनिधिसभामा ‘राष्ट्रिय दल’ बन्न प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुका साथै समानुपातिकतर्फ कम्तीमा तीन प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान रहेको छ।
हालसम्मको मतगणनाको अवस्थाअनुसार रास्वपा, कांग्रेस र एमाले भने राष्ट्रिय दल बन्ने लगभग निश्चित अवस्थामा पुगेका छन्। उनीहरूले कुल खसेको मतको अनुपातमा तीन प्रतिशतभन्दा बढी मत प्राप्त गरिसकेकाले अब बाँकी मतगणनामा शून्य मत आए पनि उनीहरूको राष्ट्रिय दलको हैसियत प्रभावित नहुने देखिन्छ।
समानुपातिकतर्फ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले करिब साढे ६ प्रतिशत मत प्राप्त गरेको छ। तर बाँकी स्थानको मतगणनामा कति मत आउँछ भन्ने आधारमा अन्तिम स्थिति तय हुने छ।
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी ले हालसम्म करिब साढे ३ प्रतिशत अर्थात करिब ९१ हजार मत प्राप्त गरेको छ। राप्रपाले राष्ट्रिय दलको मान्यता कायम राख्न बाँकी स्थानको मतगणनामा पनि यही अनुपातमा मत ल्याउनुपर्ने देखिन्छ। यी दुवै दलले प्रत्यक्षतर्फ आवश्यक कम्तीमा एक सिट भने जितिसकेका छन्।
राष्ट्रिय दल बन्ने थ्रेसहोल्ड नजिक पुगेको अर्को दल श्रम संस्कृति पार्टी नेपाल हो। पार्टीका अध्यक्ष हर्क साङ्पाङ सुनसरी–१ बाट अग्रता लिइरहेका छन् र त्यहाँको मतगणना अन्तिम चरणमा पुगेको छ। तर समानुपातिकतर्फ भने पार्टीले हालसम्म करिब दुई प्रतिशत मत मात्रै प्राप्त गरेकाले राष्ट्रिय दल बन्न थप मत आवश्यक पर्ने देखिन्छ।
यसैबीच प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट रूपमा सबैभन्दा अगाडि देखिएको छ। उपलब्ध तथ्यांकअनुसार रास्वपाले १४ क्षेत्रमा अग्रता कायम राख्दै १११ स्थानमा जित हासिल गरेको छ। यससँगै रास्वपाको कुल सिट संख्या १२५ पुगेको छ। समानुपातिकतर्फ पनि रास्वपाले १४ लाख ६१ हजार ३८१ मत प्राप्त गर्दै सबैभन्दा अगाडि रहेको छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस ले १ क्षेत्रमा अग्रता र १६ क्षेत्रमा जित हासिल गर्दै १७ सिट सुरक्षित गरेको छ। समानुपातिकतर्फ कांग्रेसले ४ लाख ९४ हजार २५१ मत प्राप्त गरेको छ।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले ३ क्षेत्रमा अग्रता र ७ क्षेत्रमा जित हासिल गर्दै कुल १० सिट प्राप्त गरेको छ भने समानुपातिकतर्फ ४ लाख ३ हजार ८९९ मत प्राप्त गरेको छ।
चौथो स्थानमा रहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले २ क्षेत्रमा अग्रता र ६ क्षेत्रमा जितसहित कुल ८ सिट जितेको छ। समानुपातिकतर्फ उसले १ लाख ९३ हजार ५५० मत प्राप्त गरेको छ।
