लोकतन्त्र कागजमा मात्र होइन, व्यवहारमा पनि जिउनुपर्छ भन्ने सन्देश बोकेर जीवनभर मतदान गर्दै आएकी बैतडीकी ज्येष्ठ नागरिक मानमतीदेवी भट्टको ११६ वर्षको उमेरमा निधन भएको छ। मुटु रोगबाट ग्रसित भट्टको सोमबार आफ्नै निवासमा निधन भएको हो। परिवारका सदस्यलाई उद्धृत गर्दै नेपाली सञ्चार माध्यमहरूमा समाचार प्रकाशित भएको छ।
पाटन नगरपालिका–४ निवासी भट्ट पञ्चायतकालदेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्मका सबै राजनीतिक परिवर्तनका साक्षी मात्र होइनन्, सक्रिय सहभागी पनि थिइन्। उनी निरन्तर रूपमा निर्वाचनमा मतदान गर्ने नेपालकै सम्भवतः सबैभन्दा वृद्ध मतदाताका रूपमा चिनिँदै आएकी थिइन्। सोही वडाको उदयदेव आधारभूत विद्यालयस्थित मतदान केन्द्रमा उनले हरेक निर्वाचनमा मत खसाल्ने गर्थिन्।
स्थानीयस्तरमा भट्टलाई ‘भोटिङ पोस्टर ओम्यान’ अर्थात् मतदानकी प्रतीक महिलाका रूपमा चिनिन्थ्यो। मतदानलाई केवल अधिकार होइन, नागरिकको जिम्मेवारी हो भन्ने विश्वास बोकेकी उनी प्रायः हरेक निर्वाचनमा मतदान केन्द्र पुग्ने पहिलो मतदाता हुने गर्थिन्। उनको उपस्थिति आफैंमा लोकतन्त्रप्रतिको आस्था र अनुशासनको सन्देश हुने गरेको स्थानीयहरू बताउँछन्।
उनका छोरा तथा निवर्तमान जिल्ला समन्वय समिति प्रमुख सिद्धराज भट्टका अनुसार २०७० सालपछि झन् हरेक निर्वाचनमा आमाले नै पहिलो मत खसाल्ने परम्परा जस्तै बनेको थियो। “यस वर्ष पनि मतदान गर्नकै लागि तराईबाट पहाड आउनुभएको थियो,” उनले भने, “चिसोका कारण तराईमा कान्छो छोराको घरमा बस्दै आउनुभएको थियो, तर भोट हाल्न भने कहिल्यै छुटाउनु भएन।”
कान्छा छोरा नरेन्द्र भट्टका अनुसार आमाले सधैं भन्ने गर्थिन्— ‘मताधिकार प्रयोग नगर्नेले गुनासो गर्ने नैतिक अधिकार गुमाउँछ।’ यही सोचले उनी हरेक निर्वाचनमा उत्साहका साथ मतदान गर्न प्रेरित हुन्थिन्। “उहाँ माघ २४ गते मतदानकै लागि यहाँ आउनुभयो, २५ गते उहाँको निधन भयो,” नरेन्द्र भट्टले भावुक हुँदै बताए।
२०७९ सालको निर्वाचनका क्रममा पनि उनले देशको भविष्यप्रति गहिरो चासो व्यक्त गरेकी थिइन्। त्यतिबेला सञ्चारकर्मीसँग कुरा गर्दै उनले भनेकी थिइन्, “मैले देशमा धेरै उतार–चढाव देखेको छु। अब देशमा स्थायित्व होस्, गरिबको पनि दिन आओस् भन्ने चाहना छ।”
जिल्ला समन्वय समिति सदस्य करण कठायतका अनुसार मानमतीदेवी भट्ट स्थानीय मतदाताहरूका लागि प्रेरणाको स्रोत थिइन्। “हरेक निर्वाचनमा उहाँको उपस्थितिले मताधिकारको महत्व सम्झाउँथ्यो,” कठायतले भने, “उहाँ लोकतन्त्रप्रतिको जीवित पाठशाला हुनुहुन्थ्यो।”
११६ वर्षको लामो जीवनमा मानमतीदेवी भट्टले शासन प्रणाली परिवर्तन देखिन्। व्यवस्था फेरिए पनि नागरिक कर्तव्य नफेरिनु पर्ने सन्देश छाडेर गइन्। उनको निधनले एउटा व्यक्तिको मात्र होइन, लोकतान्त्रिक अभ्यासप्रतिको एक दृढ आस्थाको अन्त्य भएको अनुभूति स्थानीयवासीहरूले गरेका छन्।
लोकतन्त्रप्रति जीवनभर निष्ठावान् रहँदै अन्तिम साससम्म मतदानलाई जिम्मेवारी ठान्ने मानमतीदेवी भट्ट अब हामीबीच छैनन्, तर उनले छाडेर गएको नागरिक चेतनाको विरासत भने पुस्तौँसम्म स्मरणीय रहनेछ।
फोटो: कृष्ण बिष्ट/ अन्नपूर्ण दैनिक
