टी–ट्वान्टी विश्वकपको दशौँ संस्करणका लागि सम्पूर्ण तयारी पूरा भएको छ भने आजबाट खेल सुरु हुँदै छ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुने यो प्रतिष्ठित प्रतियोगिता आज शनिबार (फेब्रुअरी ७, २०२६) बाट औपचारिक रूपमा सुरु हुँदैछ । २० राष्ट्रको सहभागिता रहेको विश्वकप करिब एक महिनासम्म चल्दै मार्च ८ सम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको उद्घाटन दिन तीन खेलहरू आयोजना हुँदैछन् । श्रीलंकाको कोलम्बोस्थित आर। प्रेमदासा स्टेडियम ९वा सिन्हलीज स्पोर्ट्स क्लब मैदान० मा पाकिस्तान र नेदरल्यान्ड्सबीचको खेलसँगै विश्वकपको औपचारिक सुरुआत हुनेछ । त्यस्तै, कोलकाताको इडेन गार्डेन्समा वेस्ट इन्डिज र स्कटल्यान्ड तथा मुम्बईको वानखेडे स्टेडियममा आयोजक भारत र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ । डिफेन्डिङ च्याम्पियन भारतले यही खेलसँगै घरेलु मैदानमा आफ्नो उपाधि रक्षा अभियान सुरु गर्नेछ ।
यस संस्करणमा क्रिकेटसँगै राजनीतिक विषयले पनि चर्चा पाएको छ । पूर्ण सदस्य राष्ट्र बंगलादेशले भारतीय भूमिमा खेल्न अस्वीकार गरेपछि प्रतियोगिताबाट बाहिरिएको छ । आइसिसीले बंगलादेशको स्थानमा स्कटल्यान्डलाई समावेश गरेको छ । यो निर्णय आईपीएलमा बंगलादेशी खेलाडी मुस्ताफिजुर रहमानलाई हटाइएपछि चिसिएको भारत–बंगलादेश सम्बन्धसँग जोडिएको विश्लेषण गरिएको छ, जसले दक्षिण एसियाली क्रिकेटमा राजनीतिक प्रभाव पुनः देखाएको छ ।
विश्वकपमा कुल ५५ खेल हुनेछन् । सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ, जहाँ प्रत्येक समूहमा पाँच टोली छन् । समूह चरणपछि शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन् । सुपर आठ चरणमा दुई समूह रहनेछन् र त्यहाँबाट उत्कृष्ट दुई टोली सेमिफाइनल हुँदै फाइनलमा पुग्नेछन् ।
खेलहरू भारतका मुम्बई, कोलकाता, चेन्नई, दिल्ली र अहमदाबादसहितका प्रमुख मैदानहरू तथा श्रीलंकाका कोलम्बो ९आर। प्रेमदासा र एसएससी० र पल्लेकेलेमा सञ्चालन हुनेछन् । फाइनल मार्च ८ मा अहमदाबाद वा कोलम्बोमध्ये एक मैदानमा हुने तय छ । पाकिस्तान फाइनलमा पुगेका खण्डमा उनका खेलहरू श्रीलंकामै गरिने व्यवस्था गरिएको छ ।
सन् २०२४ मा दक्षिण अफ्रिकालाई पराजित गर्दै उपाधि जितेको भारत घरेलु मैदानमा ऐतिहासिक तेस्रो उपाधिको खोजीमा छ । कप्तान सूर्यकुमार यादवले टोली पूर्ण तयारीका साथ मैदानमा उत्रने बताएका छन् । यद्यपि, भारत–पाकिस्तान भिडन्त नहुने निश्चित भएपछि समर्थकहरू केही निराश देखिएका छन् ।
प्रत्येक टोलीमा १५ खेलाडी रहनेछन् र कुनै पनि परिवर्तनका लागि आइसिसी टेक्निकल कमिटीको स्वीकृति आवश्यक पर्नेछ । २० टोली सहभागी यो फर्म्याटले प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ । राजनीतिक विवादका बाबजुद टी–ट्वान्टी विश्वकप क्रिकेट प्रेमीहरूका लागि ठूलो उत्सवका रूपमा सुरु हुन लागेको छ ।
