काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको स्पष्ट सन्देश प्रभावकारी रूपमा मतदातामाझ पुर्याउन सके आगामी २१ फागुनमा हुने निर्वाचनमा काँग्रेसले शानदार परिणाम हासिल गर्ने दाबी गर्नुभएको छ ।
शुक्रबार नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले निर्वाचनको नतिजा कार्यकर्ता र नेतृत्वको सक्रिय भूमिकामा निर्भर रहने उल्लेख गर्नुभयो । उहाँले त्यसका लागि सबै नेता–कार्यकर्ताले उम्मेदवारझैं खटिएर मेहनत गर्नुपर्नेमा जोड दिनुभयो ।
थापाले विगतका निर्वाचनमा काँग्रेसप्रति असन्तुष्ट बनेका मतदातासँग पुनः सम्पर्क बढाउँदै पार्टीका एजेण्डा र सन्देश स्पष्ट रूपमा बुझाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । साथै, जेन–जी नवपुस्तासँग पनि संवाद र छलफल गर्दै पार्टीलाई उनीहरूसँग जोड्ने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।
पार्टीभित्र देखिएका असन्तुष्टि र मतभिन्नता क्रमशः समाधान हुँदै गएको उल्लेख गर्दै सभापति थापाले निर्वाचनमा काँग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउने विषयमा पूर्वसभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरूसँग निरन्तर संवाद भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “आजको सन्देश सही ढंगले घरघरमा पुर्याउन सक्यौँ भने नेपाली काँग्रेसले शानदार परिणाम ल्याउनबाट कसैले रोक्न सक्दैन । यो नतिजा तपाईं र हामी सबैको मेहनतमा भर पर्छ । अघिल्लो निर्वाचनमा हाम्रो निर्णयप्रति असन्तुष्टि जनाउँदै मत नहालेका लाखौँ मतदातासँग भेटेर बुझाउन आवश्यक छ । नवपुस्तासँग पनि संवाद बढाउनुपर्छ । सबैले उम्मेदवारझैं खटिएर काम गरे यो निर्वाचन काँग्रेसका लागि ऐतिहासिक हुनेछ ।”
सभापति थापाले अब बन्ने सरकार काँग्रेसको नेतृत्वमा हुने विश्वास व्यक्त गर्दै कार्यकर्तालाई ‘अबकी बार सय पार’को नारासहित चुनावी अभियानमा जुट्न आह्वान गर्नुभयो ।
