राष्ट्रिय सूचना आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सूचना प्रवाहमा जिम्मेवार भूमिका निर्वाह गर्न सरोकारवाला सबै निकायलाई निर्देशन दिएको छ।

आयोगले बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत निर्वाचनका क्रममा फैलिन सक्ने भ्रामक, गलत तथा नियोजित सूचनाले लोकतान्त्रिक प्रक्रियामा गम्भीर असर पार्ने भन्दै सत्य, तथ्य र यथार्थमा आधारित सूचना मात्र प्रवाह गर्न आग्रह गरेको हो। पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता तथा सूचना आयुक्त गगन विष्टले निर्वाचनसम्बन्धी सूचना समयमै, स्पष्ट र सबैले बुझ्ने गरी सार्वजनिक गर्न सरकारलाई निर्देशन दिनुभएको छ।

उहाँले गलत तथा भ्रामक सूचनामाथि प्रभावकारी निगरानी र नियमन गर्न सम्बन्धित निकायलाई सक्रिय राख्न सरकारको ध्यानाकर्षण गराउनुभयो। साथै, निर्वाचन आयोगलाई मतदाता शिक्षा अझ प्रभावकारी बनाउने, बहुभाषिक माध्यममार्फत सूचना प्रवाह गर्ने तथा निर्वाचनसम्बन्धी ऐन, कानून, निर्देशिका र आचारसंहिता समयमै सार्वजनिक गर्न निर्देशन दिनुभयो।

आयोगले राजनीतिक दल र उम्मेदवारलाई आफ्ना गतिविधि र उम्मेदवारबारे तथ्यमा आधारित सूचना मात्र सार्वजनिक गर्न, गालीगलौज, दुष्प्रचार, मिथ्या तथा भ्रामक सूचनाको प्रयोग नगर्न निर्देशन दिएको छ। साथै, दलहरूलाई निर्वाचनसम्बन्धी सूचना प्रवाहका लागि सूचना अधिकारी तोक्न पनि आग्रह गरिएको छ।

सञ्चारमाध्यमलाई निर्वाचनसम्बन्धी समाचार सम्प्रेषण गर्दा निष्पक्षता, सन्तुलन र समान पहुँचको सिद्धान्त पालना गर्न निर्देशन दिइएको छ। कुनै दल वा उम्मेदवारको प्रचार सामग्रीलाई समाचारका रूपमा प्रकाशन वा प्रशारण नगर्न, तथा सशुल्क प्रचार–प्रसार नगर्न पनि आयोगले स्पष्ट गरेको छ।

त्यस्तै, सर्वसाधारण नागरिकलाई सामाजिक सञ्जाल वा अन्य माध्यममा सूचना सेयर गर्नुअघि त्यसको स्रोत आधिकारिक र विश्वसनीय भएको सुनिश्चित गर्न, र भ्रामक सूचना देखिएमा सम्बन्धित निकायमा जानकारी गराउन आयोगले आग्रह गरेको छ।