नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मसमिक्षासहित बृहत कम्युनिष्ट एकतामा सामेल हुन विप्लव नेतृत्वको समूहलाई आग्रह गरेका छन्। बुधबार पार्टी कार्यालय पेरिसडाँडामा विप्लव नेतृत्वको पार्टीबाट विद्रोह गरेका नेताहरूलाई नेकपामा समायोजन गर्ने क्रममा प्रचण्डले यस्तो आग्रह गरेका हुन्।

उनले कम्युनिष्ट एकताबाट बाहिर बसिरहे भविष्यमा पश्चाताप गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिँदै आत्मसमिक्षासहित एकतामा सहभागी हुन विप्लवलाई आह्वान गरे। प्रचण्डका अनुसार समाजवादी मोर्चा गठनका क्रममा विप्लवलाई पनि एकतामा ल्याउने प्रयास अन्तिम चरणमा पुगेको थियो, तर जेनजी आन्दोलनपछि विप्लवको नेतृत्व वैचारिक अन्यौलमा फसेको उनको दाबी छ।

राष्ट्र असाधारण परिस्थितिमा रहेका बेला कुनै आवेगमा नभई कम्युनिष्ट आन्दोलनका घटकहरूलाई एकताबद्ध गरेर शक्ति आर्जन गर्ने प्रयास गरिएको भन्दै प्रचण्डले विप्लवले त्यो ऐतिहासिक अवसर गुमाएको टिप्पणी गरे। तथापि, विप्लवप्रति आफूहरूको कुनै आक्रोश नरहेको उल्लेख गर्दै आत्मसमिक्षासहित आए स्वागत गर्न तयार रहेको उनले स्पष्ट पारे।

प्रचण्डले देश हाल असहज परिस्थितिमा रहेको र एकताबद्ध भएर देशव्यापी अभियानमा जान नसके देश अर्को दुर्घटनातर्फ जान सक्ने खतरा रहेको भन्दै कम्युनिष्ट एकताको आवश्यकता औँल्याए। साथै उनले अन्य कम्युनिष्ट घटकहरूलाई पनि बृहत एकतामा सामेल हुन आह्वान गरे।

यसै अवसरमा विप्लव नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य तथा विद्यार्थी संगठनका पूर्वअध्यक्ष चिरञ्जीवी ढकाललगायतका नेताहरू नेकपामा प्रवेश गरेका छन्।