एडमन्टन सहरमा सन् २०१६ मा स्थापना भएको हिमालयन तेक्वान्दोले दोस्रो र तेस्रो ब्याचका प्रशिक्षार्थीहरूलाई ब्ल्याक बेल्ट, प्रमाणपत्र तथा ब्याच वितरण गरेको छ। संस्थाको दशौँ वार्षिक उत्सवको अवसरमा सेन्ट अल्बर्ट कम्युनिटी हलमा आयोजित विशेष कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको हो।

कार्यक्रममा हिमालयन तेक्वान्दोका प्रशिक्षक राजु गड्तौलाले हाल करिब ९० जना नेपाली बालबालिकालाई नियमित रूपमा प्रशिक्षण दिइँदै आएको जानकारी दिए। कार्यक्रममा उपस्थित अभिभावक कृष्ण निरौलाले विदेशमा रहेर पनि दक्ष र अनुभवी नेपाली प्रशिक्षकबाट प्राप्त प्रशिक्षणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै तेक्वान्दो स्कुलको प्रशंसा गरे।

कार्यक्रममा २५० भन्दा बढीको उपस्थिति रहेको थियो। ब्ल्याक बेल्ट प्राप्त गर्ने प्रशिक्षार्थीहरूमा भविस लामिछाने, एरिक पौडेल, प्रियल गुरुङ, आरम्भ खरेल, विवेक तिमिल्सेना, आयुष ओझा र आर्यन भट्टराई रहेका छन्। उनीहरूलाई एडमन्टनमा रहेका जेष्ठ बुबाआमाहरूको हातबाट प्रमाणपत्र, ब्याच तथा ब्ल्याक बेल्ट प्रदान गरिएको थियो।

सोही अवसरमा प्रशिक्षक राजु गड्तौलाले तेक्वान्दो क्षेत्रमार्फत समुदायमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनलाई सम्मानपत्र तथा अवार्डसमेत प्रदान गरिएको थियो।