रोजगारीका लागि चुनौतीपूर्ण रहेको क्यानडा पछिल्ला वर्षहरूमा विश्वभरका विद्यार्थीहरूका लागि प्रमुख आकर्षक गन्तव्यका रूपमा विकसित भएको छ । उच्चस्तरीय शिक्षा प्रणाली, बहुसांस्कृतिक वातावरण र अध्ययनपछि स्थायी बसोबासको अवसर प्राप्त हुने भएकाले सुरुमा काम पाउन कठिन भए पनि अन्तर्राष्ट्रिय विद्यार्थीहरू क्यानाडा जाने गरेका छन् ।
सन् २०२६ का लागि क्यानडा सरकारले आफ्नो आप्रवासन नीतिमा केही महत्त्वपूर्ण परिमार्जन गरेको छ । जसले गर्दा पनि क्यानडाप्रति विद्यार्थीहरूको मोह बढेको हो। दक्ष जनशक्ति भित्र्याउने उद्देश्यसहित ल्याइएको नयाँ व्यवस्थाले स्नातकदेखि विद्यावारिधिसम्म अध्ययन गर्न चाहने विद्यार्थीहरूमा सकारात्मक सन्देश दिएको छ । अध्यागमन स्तर योजना (२०२६–२०२८) अनुसार सरकारले पारदर्शी, व्यवस्थित र प्रतिस्पर्धात्मक प्रणालीमार्फत विदेशी प्रतिभालाई प्राथमिकता दिने नीति अघि सारेको छ, जसले दीर्घकालीन रूपमा क्यानडाको श्रम बजारलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
सार्वजनिक जानकारीअनुसार क्यानडाको ‘पोस्ट–ग्रेजुएसन वर्क परमिट’ (PGWP) कार्यक्रम अन्तर्राष्ट्रिय विद्यार्थीका लागि सबैभन्दा ठूलो आकर्षणमध्ये एक मानिन्छ । यस कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले अध्ययन पूरा गरेपछि अधिकतम तीन वर्षसम्म क्यानडामै बसेर काम गर्ने अवसर पाउँछन् । यस अवधिमा हासिल गरिएको कार्य अनुभवका आधारमा ‘एक्सप्रेस इन्ट्री’ प्रणाली वा ‘प्रान्तीय मनोनयन कार्यक्रम (PNP)’ मार्फत स्थायी बासिन्दा (PR) बन्ने प्रक्रिया तुलनात्मक रूपमा सहज र अनुमानयोग्य भएकाले विद्यार्थीहरूका लागि यो दीर्घकालीन अवसरको ढोका खोल्ने माध्यम बनेको छ ।
शैक्षिक गुणस्तर मात्र नभई क्यानडाको सुरक्षित जीवनशैली, समावेशी समाज र समान अवसरको वातावरण पनि विद्यार्थी आकर्षणका प्रमुख आधार हुन् । टोरन्टो, भ्यानकुभर, मोन्ट्रियल र क्यालगरी जस्ता प्रमुख सहरहरू बहुसांस्कृतिक विविधताका उदाहरणका रूपमा चिनिन्छन् । ती सहरहरूमा नेपाली समुदायको उपस्थिति पनि उल्लेखनीय रहेकाले नयाँ विद्यार्थीहरूलाई सामाजिक रूपमा घुलमिल हुन सहज हुने देखिन्छ । साथै, अंग्रेजी र फ्रान्सेली दुवै भाषा सिक्ने अवसरले यहाँ अध्ययन गर्ने विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय रोजगारी बजारमा थप प्रतिस्पर्धी बनाउने विश्वास गरिएको छ ।
आर्थिक पक्षतर्फ हेर्दा, क्यानडामा अध्ययन खर्च प्रान्त, कलेज तथा विषयअनुसार फरक–फरक हुन्छ । सामान्यतया स्नातक तहका लागि वार्षिक २० हजारदेखि ४० हजार क्यानेडियन डलरसम्म खर्च लाग्न सक्छ । तथापि, क्यानडा सरकार तथा विभिन्न विश्वविद्यालयहरूले प्रदान गर्ने छात्रवृत्ति, अनुदान र अध्ययनसँगै ‘पार्ट–टाइम’ काम गर्ने सुविधाले विद्यार्थीहरूको आर्थिक भार कम गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।
पछिल्ला वर्षहरूमा बसोबास खर्च बढ्दै गएपछि विद्यार्थीहरू सस्तो विकल्पको खोजीमा साना सहरतर्फ आकर्षित हुन थालेका छन् । ह्यालिफ्याक्स र विनिपेग जस्ता सहरहरूमा तुलनात्मक रूपमा कम खर्चमा बस्न सकिने भएकाले यस्ता स्थानहरूको लोकप्रियता क्रमशः बढ्दै गएको छ। साथै, यी सहरहरूमा जीवनयापन सहज हुनुका साथै रोजगारीका अवसरहरू विस्तार हुँदै जानुले पनि विद्यार्थीहरूलाई आकर्षित गरिरहेको छ ।
