न्युजिल्याण्डमा रहेका नेपाली भाषी भूटानी तथा नेपाली समुदायका बालबालिकालाई भाषा, संस्कार र परम्परासँग जोड्ने उद्देश्यका साथ सरस्वती पूजा तथा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ। नेपाली स्कुल मानावटु न्युजिल्याण्डको आयोजनामा सम्पन्न कार्यक्रममा शिक्षा, कला र साहित्यकी देवी सरस्वतीको विधिपूर्वक पूजा–अर्चना गरिएको थियो।
कार्यक्रममा सरस्वती पूजा–अर्चनासँगै विभिन्न साहित्यिक प्रस्तुति गरिएको थियो। सहभागीहरूले कविता वाचन गरी नेपाली भाषा र साहित्यप्रति आफ्नो रुचि र सृजनात्मकता प्रस्तुत गरेका थिए। बालबालिकादेखि अभिभावकसम्मको उल्लेख्य सहभागिताले कार्यक्रमलाई सहभागिहरूको सक्रियताले जीवन्त बनाएको थियो।
नेपाली स्कुल सञ्चालक तथा भूटनीज सोसाइटी अफ न्युजिल्याण्डका बालकृष्ण घिमिरेले दिनु भएको जानकारी अनुसार विदेशमा रहेर पनि आफ्नो संस्कार र पहिचानलाई जीवन्त राख्ने उद्देश्यले यस्ता पूजा तथा साहित्यिक कार्यक्रम आयोजना गरिएको हो। नयाँ पुस्तालाई आफ्ना परम्परा र मूल्य–मान्यताबारे जानकारी गराउन वार्षिक कार्यतालिका बनाएर नियमित रूपमा कार्यक्रम गर्दै आएको जानकारी पनि उहाँले हिमालपारीलाई दिनु भयो।
कार्यक्रममा नेपाली साहित्य समाज न्युजिल्याण्डका अध्यक्ष विरेन्द्र केसीले यस्ता धार्मिक तथा साहित्यिक कार्यक्रमले विदेशमा हुर्किँदै गरेको नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र पहिचानसँग जोडेर राख्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
कार्यक्रमले न्युजिल्याण्डमा बसोबास गर्ने भूटानी र नेपाली समुदायबीच आपसी सम्बन्ध मजबुत बनाउनुका साथै भाषा, संस्कृति र साहित्यको संरक्षण तथा प्रवर्द्धनमा सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएका छन्।






फोटोः बालकृष्ण घिमिरे
