नेपाली कांग्रेसको विशेष महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुँदैछ। उद्घाटन कार्यक्रम कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा हुने जनाइएको छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आयोजना हुन लागेको यस विशेष महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरिएको थियो। तर देउवाले उक्त निमन्त्रण अस्वीकार गरेका छन्। संस्थापन पक्षले विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको छ र आजकै दिन जिल्ला सभापति तथा युवाको भेला आयोजना गर्ने जनाएको छ।
आज उद्घाटन समारोह सम्पन्न भएपछि विशेष महाधिवेशनको बन्द सत्र सुरु हुनेछ। बन्द सत्रको सभापतित्व महाधिवेशन पक्षमा खुलेका प्रतिनिधिहरूमध्ये जेष्ठ सदस्यले गर्ने व्यवस्था गरिएको छ। तर कसले सभापतित्व गर्ने भन्ने विषय अझै टुंगो नलागेको विशेष महाधिवेशन व्यवस्थापन समिति सचिवालय प्रमुख मनोजमणि आचार्यले जानकारी दिए।
सचिवालयका अनुसार पहिलो विशेष महाधिवेशनका प्रतिनिधिसमेत रहेका ओमकार श्रेष्ठ र पूर्वउपसभापति गोपालमान श्रेष्ठमध्ये एक जनाले बन्द सत्रको सभापतित्व गर्ने सम्भावना छ।
पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गर्दै पार्टी विधानको धारा १७(२) बमोजिम विशेष महाधिवेशनको माग गरेका हुन्। आचार्यका अनुसार २०१४ सालमा मोरङमा भएको विशेष महाधिवेशनको उद्घाटन तत्कालीन मोरङ सभापति गिरिजाप्रसाद कोइरालाले गरेको उदाहरण दिँदै अहिले पनि काठमाडौं जिल्ला सभापतिले उद्घाटन गर्ने परम्परा कायम गरिएको हो।
विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुनेछ। बाहिरी जिल्लाबाट आएका प्रतिनिधिहरू शनिबार नै काठमाडौं आइपुगेका छन् भने उद्घाटनअघि विभिन्न स्थानबाट जुलुससमेत निकालिने सचिवालयले जनाएको छ।
