अमेरिकाले लागू गर्न लागेको ‘भिसा बन्ड’ अर्थात् भिसाका लागि धरौटी बुझाउनुपर्ने देशको सूचीमा नेपाल परेपछि नेपाली नागरिकको अमेरिका यात्रा थप कठिन हुने भएको छ। अमेरिकी विदेश मन्त्रालयले सूची अद्यावधिक गर्दै नेपालसहित ३८ देशलाई उक्त सूचीमा समावेश गरेको हो।

सूचीअनुसार अब पर्यटक तथा व्यापार भिसामा आवेदन दिन पाँच हजारदेखि १५ हजार अमेरिकी डलरसम्म धरौटी राख्नुपर्नेछ। नेपालसहित अधिकांश देशका लागि यो नीति जनवरी २१ देखि लागू हुने जनाइएको छ। अमेरिकी सरकारले यो व्यवस्था पाइलट योजनाका रूपमा लागू गरेको बताएको छ।

यस नीतिले अमेरिका जाने नेपाली नागरिक, विशेषगरी आफन्त भेट्न, घुम्न तथा व्यापारिक प्रयोजनका लागि यात्रा गर्नेहरूलाई प्रत्यक्ष असर पार्ने अनुमान गरिएको छ। धरौटी बुझाएपछि मात्र भिसा अन्तर्वार्ताका लागि सिफारिस गरिने भए पनि धरौटी बुझाउँदैमा भिसा पाउने सुनिश्चित भने नहुने स्पष्ट गरिएको छ।