काठमाडौं — नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभा सदस्य उम्मेदवार चयन प्रक्रियामा गम्भीर अनियमितता र स्वार्थपूर्ण भागबण्डा भएको आरोप लगाउनुभएको छ। उहाँले नेपाली काँग्रेस र नेकपा एमालेबीच भएको तालमेल पार्टीगत हितभन्दा पनि शीर्ष नेताहरूको व्यक्तिगत स्वार्थ र सम्बन्धका आधारमा गरिएको दाबी गर्नुभयो।
बुधबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री थापाले दुई दलका शीर्ष नेताहरूले आ–आफ्ना नजिकका व्यक्तिलाई उम्मेदवार बनाउने उद्देश्यले क्लस्टर बाँडफाँड गरिएको आरोप लगाउनुभयो। उहाँका अनुसार कुन क्षेत्रमा कुन समुदाय र कुन नेता उम्मेदवार बनाउने भन्ने निर्णय एमाले र काँग्रेस दुवै पक्षले पार्टीभन्दा पनि नेताको निजी हितअनुसार गरेको देखिन्छ।
महामन्त्री थापाले काँग्रेसबाट राष्ट्रिय सभाका लागि प्रस्तावित नौ जना उम्मेदवारमध्ये तीन जनाको नाम कुनै पनि तल्लो तहको पार्टी समितिबाट सिफारिस नभएको उल्लेख गर्नुभयो। उहाँले यसले संसदीय बोर्ड, केन्द्रीय समिति मात्र होइन, जिल्ला र क्षेत्रीय समितिहरूको सिफारिस प्रक्रिया समेतको अवमूल्यन गरेको बताउनुभयो।
उम्मेदवार चयनमा समावेशिताको मर्मलाई बेवास्ता गरिएको भन्दै थापाले प्रस्तावित उम्मेदवारमध्ये एक जना पनि जनजाति समुदायबाट नपरेको गुनासो गर्नुभयो। उहाँले यसअघि मधेसी समुदायको प्रतिनिधित्व नहुँदा पार्टीभित्र आवाज उठाइएको स्मरण गराउँदै यसपटक पनि त्यही गल्ती दोहोरिएको आरोप लगाउनुभयो। साथै, मुस्लिम समुदायबाट योग्य उम्मेदवार चयन गर्ने अवसर हुँदाहुँदै जानीजानी बाहिर राखिएको उहाँको दाबी छ।
महामन्त्री थापाले एमालेसँग राष्ट्रिय सभामा तालमेल गर्ने निर्णयको औचित्यमाथि पनि प्रश्न उठाउनुभयो। पछिल्लो समय पार्टीभित्र महामन्त्रीहरूको भूमिकालाई कमजोर बनाउने प्रयास भइरहेको गुनासो गर्दै उहाँले उम्मेदवार चयन प्रक्रियामा आफूहरूको फरक मत रहेको स्पष्ट पार्नुभयो।
— न्युज एजेन्सी नेपाल
