भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले राष्ट्रपति निकोलस मादुरो र प्रथम महिला सिलिया फ्लोरेसको वर्तमान अवस्था अज्ञात रहेको बताएकी छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मादुरोलाई पत्नीका साथ पक्राउ गरी देशबाहिर लगिएको दाबी गरेपछि उपराष्ट्रपतिको यो प्रतिक्रिया सार्वजनिक भएको हो ।
उपराष्ट्रपति रोड्रिग्जले भनिन्, “सरकारलाई राष्ट्रपति मादुरो र प्रथम महिलाको अवस्थाबारे कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन ।” उनले अमेरिकी आक्रमणको निन्दा गर्दै राष्ट्रपतिको जीवन र सुरक्षाबारे तत्काल जानकारी दिन अमेरिकासँग माग गरिन् ।
बीबीसीका अनुसार रोड्रिग्जले राष्ट्रपति मादुरो जीवित रहेको प्रमाण माग गर्दै उनको अवस्थाबारे विश्व समुदायको ध्यानाकर्षण गराएकी छन् । यसअघि राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत अमेरिकी सेनाले भेनेजुएलाको राजधानी काराकासमा आक्रमण गरी मादुरो दम्पतीलाई नियन्त्रणमा लिएको दाबी गरेका थिए ।
काराकासमा भएको हवाई आक्रमणपछि भेनेजुएला सरकारले राष्ट्रिय संकटकाल घोषणा गरेको छ । आक्रमणमा सैनिक र सर्वसाधारणको ज्यान गएको दाबी भए पनि मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण सार्वजनिक भएको छैन ।
अमेरिकी दाबीपछि अन्तर्राष्ट्रिय स्तरमा तीव्र प्रतिक्रिया देखिएको छ । रुस र चीनले अमेरिकी कारबाहीको निन्दा गर्दै मादुरो दम्पतीलाई तत्काल रिहा गर्न माग गरेका छन् । ल्याटिन अमेरिका तथा अन्य विभिन्न देशहरूले पनि घटनाक्रमप्रति चिन्ता व्यक्त गरेका छन् । स्पेनले दुवै पक्षलाई संयम अपनाउन आग्रह गर्दै शान्ति वार्ताका लागि मध्यस्थता गर्न तयार रहेको जनाएको छ ।
भेनेजुएलाले यस घटनालाई आफ्नो सार्वभौमसत्तामाथिको गम्भीर उल्लंघन भएको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई स्पष्ट धारणा बनाउन आग्रह गरेको छ ।
