आज राजधानीसहित देशभर विभिन्न युवा संस्थाको आयोजनामा १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइँदैछ। ‘नेपाली टोपीस् हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउँदै आइरहेका छन्।
नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ पुनः स्थापित गर्न २०७० सालदेखि यस दिवसको आयोजना सुरु भएको हो। दिवसका अवसरमा धेरैले राष्ट्रिय पोसाक लगाएर तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै आफ्नै सांस्कृतिक पहिचानलाई साझा गर्ने गरेका छन्।
यो अभियानले राष्ट्रिय पोसाकको पुनर्जागरणमा महत्वपूर्ण योगदान दिएको बताइन्छ। विगतमा राष्ट्रिय पोसाकका रूपमा मनाइने प्रचलन औपचारिक रूपमा हटाइएपछि युवाहरूले स्वस्फूर्त रूपमा यो अभियान सुरु गरेका थिए। आजका कार्यक्रमहरूले सांस्कृतिक सम्पदाको महत्त्व र पहिचानको संरक्षणबारे जनचेतना फैलाउने लक्ष्य राखेका छन्।
आज राजधानीका विभिन्न स्थानमा विशेष कार्यक्रम आयोजना गरिएको छ। प्रदर्शनी, सांस्कृतिक नाच–गान, प्रतियोगिता र शिक्षा अभियान मार्फत सहभागीहरूले नेपाली पोसाकको ऐतिहासिक र सांस्कृतिक महत्व प्रस्तुत गरेका छन्। आयोजकहरूले जनसमुदायलाई राष्ट्रिय पहिचान, परम्परा र आधुनिकतालाई सँगै जोड्ने अवसरको रूपमा यो दिवसलाई प्रस्तुत गरेको जानकारी दिएका छन्।
विभिन्न युवा र सांस्कृतिक संस्थाका प्रतिनिधिहरूले भने, ‘यो दिवसले नेपाली युवालाई आफ्नो सांस्कृतिक पहिचान र इतिहाससँग जोड्ने काम गरेको छ। हाम्रो उद्देश्य नयाँ पुस्तामा नेपाली पोसाक र टोपीको महत्त्व बुझाउनु हो ।’
