काठमाडौँ — निर्वाचन विरोधी अभिव्यक्ति दिँदै आएको एमालेसहित ४३ दलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन्। आज अन्तिम दिन परेकाले दलका नेताहरू मध्यरातसम्म आयोग पुगेर बन्दसूची दर्ता गराएका हुन्।

नेपाली कांग्रेसले पनि लामो छलफलपछि समानुपातिक उम्मेदवारको बन्दसूची तयार गरी निर्वाचन आयोगमा बुझाएको छ। कांग्रेसका नेताहरू सूची लिएर मध्यरातमा आयोग पुगेका थिए। आयोगका कर्मचारीहरूले रातभर बसेर बन्दसूची दर्ताको काम गरेका छन्।

नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि ११० जनाको समानुपातिक बन्दसूची बुझाएको छ। निर्वाचन विभाग प्रमुख निरज आचार्य नेतृत्वको टोलीले आयोगमा सूची दर्ता गराएको हो। आचार्यका अनुसार एमालेले पुरानो, अनुभवी नेतृत्व र ४० वर्षमुनिका नयाँ तथा उदीयमान पुस्ताबीच संयोजन गरेर उम्मेदवार छनोट गरेको छ। अपाङ्गता भएका व्यक्ति, पिछडिएको क्षेत्र, मधेशी, चेपाङ, पोडे, शेर्पालगायत समुदायलाई पनि समेटिएको उनले बताए।

यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकतामा आएका १७ घटक दललाई समेट्दै ११० जना समानुपातिक उम्मेदवार तय गरेको छ। नेकपाका प्रतिनिधिहरूले सूची आयोगमा दर्ता गराउँदै छन्। पार्टीका एक नेताका अनुसार जिल्लाबाट सिफारिस भएका करिब एक हजार आठ सय उम्मेदवारमध्येबाट समानुपातिक क्लस्टरका आधारमा छनोट गरिएको हो। आवश्यक परे सूची संशोधन हुन सक्ने पनि उनले बताए।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह समूह र कुलमान घिसिङ संलग्न उज्यालो नेपाल पार्टीसँग एकता प्रक्रिया टुंग्याएपछि सोमबार मध्यराति समानुपातिक बन्दसूची बुझाएको छ। रास्वपाको टोली सोमबार राति साढे १ बजे निर्वाचन कार्यालय पुगेको थियो। रास्वपाले समानुपातिकतर्फ ११० जनाको नाम दर्ता गराएको जनाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची टुंगो लगाइसकेको छ। निर्वाचन आयोगका अनुसार राति साढे १२ बजेसम्म ४३ वटा दलले समानुपातिक उम्मेदवारको सूची पेस गरेका छन्।

आयोगले पेस भएका बन्दसूचीको छानबिन गरी कानुन र मापदण्डअनुसार आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।