काठमाडौँ, । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज र भोलि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गर्दै छन् । आयोगका अनुसार बन्दसूचीमा न्यूनतम ११ र अधिकतम ११० जनाको नाम समावेश गर्नुपर्नेछ, जसमा समावेशी समूह र महिला सहभागिता अनिवार्य गरिएको छ ।
निर्वाचन आयोगले बन्दसूची पेस गर्दा दलको केन्द्रीय समितिको निर्णय, उम्मेदवारको मञ्जुरीनामा, नागरिकता, मतदाता नामावलीमा नाम भएको प्रमाण तथा सफ्ट र हार्डकपी बुझाउनुपर्ने जनाएको छ । पेस भएका सूचीमाथि आयोगले छानबिन गरी आवश्यक परे सच्याउन निर्देशन दिनेछ । अन्तिम बन्दसूची माघ २० गते प्रकाशन हुनेछ ।
यसैबीच, आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ । यसअनुसार एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता मतदानका लागि योग्य छन् । तीन वर्षयता करिब नौ लाख १५ हजार मतदाता थपिएका छन् ।
निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि निर्वाचन आचारसंहिता पनि स्वीकृत गरेको छ । आचारसंहिता मतदान हुनुभन्दा ४५–५० दिनअघि लागू हुने आयोगले जनाएको छ । आचारसंहिताले जुलुस, सभा, प्रचार सामग्री, अनलाइन तथा डिजिटल माध्यमबाट हुने प्रचारप्रसारमा कडाइ गरेको छ ।
त्यस्तै, यसपटकको निर्वाचनमा ७५ मतदान स्थल र ८८५ मतदान केन्द्र थपिएका छन् । आयोगका अनुसार कुल मतदान स्थल १० हजार ९६७ र मतदान केन्द्र २३ हजार ११२ कायम गरिएको छ ।
