काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीसम्बन्धी मुद्दाको सुनुवाइ तुलसीपुर उच्च अदालत, बुटवलको १ नम्बर इजलासमा हुने भएको छ । अदालतका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको संयुक्त इजलासमा मुद्दा परेको हो ।
यसअघि मंसिर २५ गतेका लागि तोकिएको पेशी ‘हेर्न नमिल्ने’ कारण स्थगित भएको थियो भने त्यसअघि मंसिर ११ गतेको पेशी लामिछानेका कानुन व्यवसायीको अनुरोधमा स्थगित गरिएको थियो ।
जिल्ला अदालतले विगो बराबरको रकम बुझाएर थुनाबाहिर बसेर मुद्दाको पुर्पक्ष गर्न पाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध परेको निवेदनको सुनुवाइ यही इजलासमा तोकिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।
बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी तथा संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दामा बिहीबारको पेशी कात्तिक १३ गतेपछिको निरन्तर सातौँ पटकको पेशी हो । यस अवधिमा लामिछानेतर्फबाट दुई पटक र जोशीतर्फबाट एक पटक पेशी स्थगित भइसकेको छ ।
