काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीलाई सबैले चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइने गरेको भन्दै गुनासो गरेका छन् । उनले हरेक आन्दोलनका क्रममा शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीलाई नै निशाना बनाइने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिए ।
आइतबार काठमाडौंको बौद्धमा पुनर्निर्मित प्रहरी कार्यालयको उद्घाटन गर्दै उनले यस्तो गुनासो गरेका हुन् । शान्ति सुरक्षा कायम गर्न नागरिक र प्रहरीबीचको साझेदारी अपरिहार्य रहेको उल्लेख गर्दै उनले आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउँदै अघि बढ्न निर्देशन दिए ।
कार्कीले आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण भए पनि अन्ततः शान्ति सुरक्षा कायम गर्न प्रहरीकै आवश्यकता पर्छ भन्ने यथार्थ सबैले बुझ्न आवश्यक रहेको बताए । जनेजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त भएको बौद्ध प्रहरी कार्यालय पुनर्निर्माण गरी पुनः सञ्चालनमा ल्याइएको हो ।
