परीक्षा सञ्चालन भइरहेका बेला अमेरिकाको एक विश्वविद्यालयमा अन्धाधुन्ध गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन् ।

अमेरिकाको रोड आइल्याण्ड राज्यको प्रोभिडेन्स शहरस्थित ब्राउन विश्वविद्यालयको इन्जिनियरिङ भवनमा गोलीकाण्ड भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

परीक्षा चलिरहेका बेला कालो कपडा लगाएर आएका एक संदिग्धले अन्धाधुन्ध गोली प्रहार गरेका थिए । घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन् भन्ने कुरा रोयटर्सले आफ्नो समाचार बुलेटिनमा उल्लेख गरेको छ । समाचारअनुसार गोली चलाउने व्यक्तिको पहिचान अझै खुल्न सकेको छैन ।

गोली प्रहारपछि आक्रमणकारी फरार भएको र उनको खोजी तीव्र पारिएको स्थानीय प्रहरीले जनाएको छ । आक्रमणकारीको पहिचान खुलाउन आसपासका सिसिटिभी तथा अन्य भिडियो फुटेजहरू जाँच भइरहेको जनाइएको छ । मृतक र घाइते विद्यार्थी हुन् वा अन्य व्यक्ति भन्ने विषय पनि अझै पुष्टि हुन बाँकी छ ।

घटना सार्वजनिक भएपछि विश्वविद्यालय प्रशासनले विद्यार्थीहरूलाई सुरक्षित स्थानमा बस्न निर्देशन दिएको थियो । एक विद्यार्थी च्याङ–हेङ चिएनले स्थानीय टेलिभिजनलाई बताएअनुसार उनी प्रयोगशालामा काम गरिरहेका बेला नजिकै आक्रमणकारीले गोली चलाउन थालेको सूचना आएको थियो । त्यसपछि उनीहरू करिब दुई घण्टासम्म डेस्कमुनि लुकेर बसेका थिए ।