न्युजिल्याण्ड सरकारले आगामी अप्रिल १ देखि लागू हुने गरी न्यूनतम तलब २ प्रतिशतले वृद्धि गरेको छ। सरकारको निर्णयअनुसार हाल प्रतिघण्टा २३.५० डलर रहेको न्यूनतम तलब बढेर २३.९५ डलर पुग्नेछ।
वर्कप्लेस रिलेसन्स एण्ड सेफ्टी मन्त्री ब्रुक भान भेल्डेनका अनुसार यस निर्णयबाट करिब १ लाख २२ हजार ५०० जना कामदार प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। उनले जीवनयापन लागतसँग केही हदसम्म तालमेल राख्दै व्यवसायहरूमा थप आर्थिक दबाब नपरोस् भन्ने उद्देश्यले सन्तुलित निर्णय लिइएको बताइन्।
“व्यवसाय सञ्चालन गर्न अहिले चुनौतीपूर्ण अवस्था रहेको हामीलाई थाहा छ। त्यसैले श्रमिकलाई सहयोग गर्ने र व्यवसायमाथि अत्यधिक दबाब नपर्ने गरी सन्तुलित उपाय अपनाइएको हो,” मन्त्री भान भेल्डेनले भनिन्। उनका अनुसार बढेको तलबले न्यूनतम तलब पाउने कामदारको दैनिक जीवनयापनमा केही सहजता ल्याउने लक्ष्य राखिएको छ।
मन्त्री भान भेल्डेनले यो निर्णय व्यवसाय, नवप्रवर्तन तथा रोजगार मन्त्रालय (एमबीआईई) को सिफारिसअनुसार गरिएको पनि जानकारी दिइन्।
यससँगै सरकारले ‘स्टार्टिङ–आउट’ र तालिम तलब पनि प्रतिघण्टा १८.८० डलरबाट बढाएर १९.१६ डलर पुर्याएको छ, जसले नयाँ तथा तालिम चरणका कामदारलाई समेत राहत दिने अपेक्षा गरिएको छ।
यद्यपि, न्यूनतम तलब वृद्धिलाई लिएर विपक्षी दलहरूले असन्तुष्टि जनाएका छन्। लेबर पार्टीकी कार्यस्थल सम्बन्धी प्रवक्ता ज्यान टिनेट्टीले यो निर्णय जीवनयापन लागतको चर्को दबाब झेलिरहेका श्रमिकहरूको समस्यालाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको टिप्पणी गरेकी छन्।
त्यसैगरी, ग्रीन्स पार्टीका कार्यस्थल सम्बन्धी प्रवक्ता टेनाउ तुइओनोले २ प्रतिशत वृद्धिलाई ‘अत्यन्त न्यून’ भन्दै आलोचना गरेका छन्। उनका अनुसार यो वृद्धिले बढ्दो महँगीका बीच न्यूनतम तलब पाउने वर्गको वास्तविक आम्दानी जोगाउन पर्याप्त सहयोग गर्न सक्दैन।
यस्तो छ न्युतवब बृद्धिको विगत पाँच वर्षको इतिहास
सन् २०२०: प्रतिघण्टा १८.९० डलर
सन् २०२१: प्रतिघण्टा २०.०० डलर
सन् २०२४: प्रतिघण्टा २३.१५ डलर (वयस्क)
सन् २०२५ (अप्रिल): प्रतिघण्टा २३.५० डलर (वयस्क)
सन् २०२६ (अनुमानित अप्रिल):
- प्रतिघण्टा २३.९५ डलर (वयस्क)
- प्रतिघण्टा १९.१६ डलर (स्टार्टिङ–आउट / तालिम)
