एनआरएनए न्यूजिल्याण्डले नेपाली बालबालिकालाई लक्षित गर्दै बृहत चित्रकला प्रतियोगिता आयोजना गर्ने भएको छ। स्कूल हलीडेको समयमा बालबालिकालाई आफ्नो कला र संस्कृतिसँग घुलमिल गराउँदै रचनात्मक कार्यक्रमा सहभागी गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।
एनआरएनए न्यूजिल्याण्डले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत एक सूचना जारी गर्दै युवा कलाकारहरूलाई प्रतियोगितामा सहभागी हुन आग्रह गरेको छ। प्रतियोगिताले युवा पुस्तालाई साझा नेपाली सांस्कृतिक सम्पदासँग जोड्न र सिर्जनशीलता व्यक्त गर्न मद्यत पुग्ने विश्वास व्यक्त गरेको छ।
प्रतियोगितामा सहभागी हुन सक्ने उमेर समूह तीन प्रकारका रहेका छन् । जस्मा ४–८, ८–१२ र १२–१८ वर्ष। प्रत्येक समूहका शीर्ष दुई विजेतालाई नगद पुरस्कार दिइनेछ — पहिलो पुरस्कार $३०० र दोस्रो पुरस्कार $१००।
प्रतियोगितामा उत्कृष्ट कलाकृतिहरूलाई ठूला प्लेटफर्ममा प्रदर्शन गर्ने व्यवस्था गरिएको छ। सबै समूहका शीर्ष १० कलाकृतिहरू क्राइस्टचर्चमा २०२६ नेपाल फेस्टिभलमा विशेष स्टलमा प्रदर्शनीका लागि राखिनेछन्। प्रत्येक समूहका शीर्ष दुई विजेतालाई फेस्टिभलको मुख्य मञ्चमा, शनिवार, अप्रिल १८, २०२६ मा औपचारिक रूपमा सम्मान गरिनेछ।
प्रतियोगितामा सहभागि हुनका लागि नियमअनुसार कलाकृति केवल हस्तकला (पेन्ट, वाटरकलर, क्रेयोन, पेन्सिल आदि) मा हुनुपर्छ। सहभागीहरूले कलाकृतिको स्पष्ट र उच्च गुणस्तरको फोटो खिचेर ईमेलमार्फत पठाउनुपर्नेछ। ईमेलमा बालकको नाम, उमेर, स्कूल वर्ष र कलाकृतिको प्रेरणासम्बन्धी संक्षिप्त विवरण समावेश गर्नुपर्छ। ईमेल contact@nrnanz.org.nz रहेको छ ।
प्रतियोगिताको अन्तिम म्याद ३० जनवरी २०२६ तोकिएको छ। चित्रकला छनोटका लागि स्वतन्त्र निर्णायक मण्डल नियुक्त गरिनेछ।
