नेपाली कांग्रेस विभाजनको डिलमा पुगेपछि सभापति शेरबहादुर देउवा र विशेष महाधिवेशन पक्षधर नेताहरू सोमबार रातिदेखि निर्णायक छलफलमा जुटेका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संस्थापन पक्षसमक्ष ‘बटमलाइन’ अघि सार्दै विशेष महाधिवेशनका निर्णयलाई पार्टीले स्वामित्व लिनुपर्ने पहिलो सर्त राखेका छन्।
महामन्त्रीद्वयले देउवाले सक्रिय जिम्मेवारीबाट अलग हुनुपर्ने, निर्वाचनमा गठबन्धन नगर्ने र उम्मेदवारको टिकटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हस्ताक्षर हुनुपर्ने प्रस्ताव गरेका छन्। तर संस्थापन पक्ष विशेष महाधिवेशनलाई अवैधानिक ठान्दै आएको छ।
सहमति जुट्न नसके विशेष महाधिवेशनले आफ्नै बाटो अघि बढाउने चेतावनी दिएको छ। कांग्रेसको भविष्य सहमति वा विभाजनको दोबाटोमा पुगेको छ।
