प्रधानमन्त्री क्रिस्टोफर लक्सनले विश्वव्यापी द्वन्द्वका कारण इन्धनको मूल्य बढिरहेको अवस्थाबारे चिन्ता व्यक्त गर्दै न्युजिल्याण्डमा इन्धन आपूर्ति पर्याप्त रहेको बताएका छन्।

उनले वर्तमान अवस्थामा इन्धन अभाव हुने वा कुनै प्रकारको प्रतिबन्ध लगाउने आवश्यक नरहेको स्पष्ट पार्दै देशसँग आवश्यक परिमाणमा इन्धन भण्डारण रहेको र भविष्यका लागि समेत तयारी गरिएको जानकारी दिएका छन्।

सरकारको प्राथमिकता रोजगारी, जनजीविका र समग्र अर्थतन्त्रको संरक्षण गर्नु रहेको उल्लेख गर्दै प्रधानमन्त्री लक्सनले विश्व बजारमा देखिएको अस्थिरताको असर कम गर्न राष्ट्रिय इन्धन योजना अद्यावधिक गरिएको बताए । उनका अनुसार यसले सम्भावित आपूर्ति अवरोधको अवस्थामा पनि देशलाई सुरक्षित राख्नेछ।

इन्धनको बढ्दो मूल्यले घरपरिवारमा दबाब बढाइरहेको भन्दै सरकारले निम्न तथा मध्यम आय भएका परिवारलाई लक्षित गरी अस्थायी सहयोग कार्यक्रम लागू गर्ने घोषणा पनि गरेको छ ।सरकारले यस्तो सहयोग लक्षित समूहमा केन्द्रित गर्दै विगतमा कोभिड–१९ को समयमा भएको अत्यधिक खर्चका कारण सार्वजनिक ऋण र मुद्रास्फीति बढेको अनुभव दोहोरिन नदिने रणनीति अपनाइएको जनाएको छ। लक्सनले अन्तर्राष्ट्रिय तेल बजार वा विश्वव्यापी द्वन्द्वलाई नियन्त्रण गर्न नसकिने भए पनि सन्तुलित आर्थिक नीतिमार्फत न्युजिल्याण्डको अर्थतन्त्रलाई सुरक्षित राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।