निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी, नेपालका उम्मेदवार रेशमलाल चौधरीको उम्मेदवारी खारेज गरेको छ। आयोगका अनुसार बिहीबार साँझ कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट परेको उजुरीमा उजुरी सदर हुने ठहर गर्दै निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो।
आयोगले चौधरीविरुद्ध कस्तो उजुरी परेको थियो भन्नेबारेमा भने केही खुलाएको छैन।
त्यसैगरी काठमाडौं क्षेत्र नं–१० का उम्मेदवार सुमित्रा बस्नेतको उम्मेदवारी पनि आयोगले खारेज गरेको छ। आयोगका अनुसार बस्नेतको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको जानकारी जाँच गर्दा प्रमाणित भएपछि उनको उम्मेदवारी खारेज गरिएको हो।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले दिएको जानकारीअनुसार आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारविरुद्ध परेका उजुरीमाथि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट निर्णय गरिएको हो। सो क्रममा चारवटा उजुरी खारेज भएका छन् भने एउटा उजुरीमा उम्मेदवारी खारेज गर्ने निर्णय भएको छ।
घिमिरेका अनुसार बिहीबार साँझ ७ बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ। साथै, उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारहरूले शुक्रबार नाम फिर्ता लिन सक्नेछन्।
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि माघ ६ गते देशभर उम्मेदवारी मनोनयन दर्ता भएको थियो। त्यस क्रममा पाँच जना उम्मेदवारविरुद्ध उजुरी परेको थियो। भक्तपुर–२ मा दुई, सुनसरी–२, रौतहट–१ र कैलाली–१ मा एक–एक उजुरी परेको थियो।
यसैगरी आयोगले देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिएको छ। यही माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ।
माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए।
देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा प्राप्त जानकारीअनुसार पुरुष तीन हजार ८८, महिला ३९५ र तेस्रो लिङ्गी एक गरी तीन हजार ४८५ जनाको उम्मेदवारी कायम भएको छ। यीमध्ये चार जिल्लाका पाँच उम्मेदवारमाथि उजुरी परेको थियो।
निर्वाचन आयोगले माघ ९ गते उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने तयारीसमेत गरेको जनाएको छ।
