नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) गम्भीर घुँडाको चोटका कारण यतिबेला उपचार प्रक्रियामा रहेकी छन्। करिब सात हप्ताअघि फोनिक्स राउन्ड ११ अन्तर्गत ब्रिस्बेन रोरविरुद्धको खेलको दोस्रो हाफमा गोलकिपर क्लोइ लिंकेनले हावामा बल नियन्त्रण गर्ने क्रममा भण्डारीको दाहिने खुट्टामा कुल्चिन पुगेपछि उनलाई चोट लागेको हो। प्रारम्भिक परीक्षणपछि घुँडाको एमसीएल तथा यसअघि प्रत्यारोपण गरिएको एसीएल ग्राफ्टमा समेत क्षति पुगेको पुष्टि भएको थियो।

उनी घाइते भएको तीन सातापछि क्लबको पहलमा शल्यक्रियाको मिति तय गरिएको थियो। तर उपचार व्यवस्थापनको विषयमा अन्योल सिर्जना हुँदा तय भएको मिति रद्द गर्नुपरेको जनाइएको छ। हाल उनी पुनः शल्यक्रियाको प्रक्रिया अघि बढाउने तयारीमा रहेकी छन्।

यसअघि घुँडाकै चोटका कारण उनले कतारस्थित एस्पेटार अस्पतालमा उपचार गराएकी थिइन्। त्यतिबेला अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वले उपचार व्यवस्थापनमा सहयोग गरेको थियो र उनी सफल पुनर्स्थापनापछि मैदानमा फर्किएकी थिइन्। यसपटक पनि चोट जटिल प्रकृतिको भएकाले सोही अस्पतालमा उपचार गराउने उनको चाहना रहेको चिकित्सकहरूले बताएका छन्।

सावित्राले सार्वजनिक अपिल जारी गर्दै शल्यक्रिया र करिब ७–८ महिनाको पुनर्स्थापनाका लागि करिब ८० हजार अमेरिकी डलर आवश्यक पर्ने जानकारी दिएकी छन्। बीमाबाट प्राप्त हुने रकमले सम्पूर्ण खर्च नधान्ने भएकाले उनले समर्थक तथा शुभेच्छुकहरूसँग सहयोगको आग्रह गरेकी हुन्। उनका अनुसार प्रशासनिक सहयोगको अपेक्षा गरिए पनि प्रक्रिया अपेक्षित रूपमा अघि नबढेपछि शल्यक्रिया ढिला नगरी अघि बढ्नुपर्ने बाध्यता आएको हो।

हाल उनी न्युजिल्यान्डको एक क्लबमा आबद्ध छिन्। क्लबले स्थानीय अस्पतालमा उपचार गराउन प्रस्ताव गरेको भए पनि उच्चस्तरीय उपचारका लागि पुनः एस्पेटारमै जाने तयारी गरिएको छ। उपचार ढिला भए करिअरमा दीर्घकालीन असर पर्न सक्ने भएकाले समयमै शल्यक्रिया आवश्यक रहेको चिकित्सकीय सुझाव छ।

इजरायल, फ्रान्स, न्युजिल्यान्ड र अष्ट्रेलियालगायत विभिन्न देशमा व्यावसायिक फुटबल खेलेकी सावित्रा नेपाली महिला फुटबलको सर्वाधिक सफल खेलाडीमध्ये एक मानिन्छिन्। राष्ट्रिय टोलीकी कप्तानका रूपमा उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई महत्वपूर्ण जित दिलाएकी छन्।

सामाजिक सञ्जालमार्फत उनले “थाकेकी छु, तर हारेकी छैन” भन्दै आफू पुनः मैदानमा फर्किने दृढ विश्वास व्यक्त गरेकी छन्। नेपालभित्र रहेका समर्थकहरूले क्यूआर कोड वा बैंकमार्फत तथा विदेशमा रहेका समर्थकहरूले अनलाइन अभियानमार्फत सहयोग गर्न सक्ने व्यवस्था गरिएको छ।

मलाई सहयोग गर्न नेपालमा रहनुहुनेले तल राखिएको QR वा बैंक मार्फत सहयोग गर्नुहोला ।

विदेशमा रहनुहुनेले र इच्छुक ब्यक्तिले यो लिंक मार्फत सहयोग गर्न सक्नु हुने छ :

https://givealittle.co.nz/…/support-sambas-surgery…