दमास्कस
शुक्रवार बिहान सिरियाको दक्षिणपश्चिमी ग्रामीण क्षेत्र पर्ने बेइट जिन गाउँमा इजरायली हवाई आक्रमण र तोपखानाको गोलीबारी हुँदा कम्तीमा १३ जनाको मृत्यु र दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्।

आक्रमण इजरायली भूमिगत अभियानपछि भएको र त्यसक्रममा स्थानीय बासिन्दाहरूसँग झडपसमेत भएको सिरियाली अधिकारीहरूले बताएका छन्। स्वास्थ्य अधिकारीहरूको अनुसार हालसम्म १३ जनाको शव र २४ भन्दा बढी घाइते अस्पताल पुर्‍याइएका छन्। उनीहरूका अनुसार खोजी तथा उद्धार कार्य जारी रहेको छ, र मृतक संख्या अझै बढ्न सक्ने प्रारम्भिक अनुमान छ।

इजरायली सेनाले यस क्षेत्रमा रातभर ‘अपरेशन’ सञ्चालन गरेको पुष्टि गर्दै, उक्त कारबाही सुन्नी इस्लामवादी समूह ‘जामा इस्लामिया’ का संदिग्ध सदस्यहरूलाई लक्षित गरेको दाबी गरेको छ। इजरायलले यस समूहले आक्रमणको योजना बनाइरहेको आरोप लगाउँदै आएको छ। (सिन्ह्वाको सहयोगमा )