काठमाडौं — प्रदेशसभा सदस्य रेखा कुमारी शर्मा बालश्रम तथा नाबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकी छिन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार मध्यराति काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरेको हो।

शर्मामाथि एक नाबालिकालाई लामो समयदेखि घरमा राखेर काममा लगाएको तथा कुटपिटसमेत गरेको आरोप लागेको छ। ती बालिकालाई करिब ६ वर्षदेखि परिवारबाट टाढा राखेर घरेलु काममा लगाइएको र दशैंजस्ता पर्वमा समेत घर जान नदिएको विवरण सार्वजनिक भएको छ।

घटनाको खुलासा काठमाडौं महानगरपालिकाले गरेको एक सर्वेक्षणका क्रममा भएको थियो। सामुदायिक विद्यालयमा अध्ययनरत तर अभिभावक साथमा नभएका बालबालिकाबारे अध्ययन गर्ने क्रममा महानगरका प्रशिक्षार्थी विद्यार्थीहरूले ती नाबालिकाको अवस्था पत्ता लगाएका थिए। त्यसक्रममा बालिकाले आफूलाई श्रमशोषण गरिएको र पटक–पटक कुटपिट गरिएको बयान दिएकी थिइन्।

महानगरपालिकाको टोली, नगर प्रहरी, वडा प्रतिनिधि तथा नेपाल प्रहरीसमेत घटनास्थल पुगेर मुचुल्का तयार गरी बालिकाको उद्धार गरिएको थियो। उद्धारपछि उनलाई संरक्षण गृहमा राखिएको छ।

बालिकाले घरधनी पक्षबाट हात र पाइप प्रयोग गरेर कुटपिट गरिने गरेको तथा घरको सरसफाइ, खाना पकाउने, बिरुवामा पानी हाल्ने लगायतका काम गर्न बाध्य बनाइएको बताएकी थिइन्। घटनापछि महानगरपालिकाले प्रदेशसभा सदस्य शर्माविरुद्ध प्रहरीमा उजुरी दर्ता गरेको थियो।

यसअघि उक्त प्रकरणमा मुद्दा नचलाउने रायसहित फाइल जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंबाट उच्च सरकारी वकिल कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयसम्म पुगेको थियो। तर नयाँ परिस्थितिमा अनुसन्धान अगाडि बढाउँदै प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनापछि तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर तथा हालका प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पीडित बालिकालाई न्याय मिल्ने दिन आउने बताएका थिए।

उक्त घटनापछि पीडित बालिकाका अभिभावक काठमाडौं आएर सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदनसमेत दिएका थिए। अहिले प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।