तीन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल को सम्पत्ति छानबिन प्रक्रिया अघि बढाइएको छ।
सम्पत्ति शुद्धीकरण विभागले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई पत्राचार गरेपछि सीआईबीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो।
यसैक्रममा कांग्रेस नेता तथा पूर्वऊर्जा मन्त्री दीपक खड्का लाई पक्राउ गरिएको छ। सीआईबीका एआईजी डा. मनोज केसीका अनुसार विभागको पत्रअनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो।
तीन पूर्वप्रधानमन्त्रीको हकमा भने औपचारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरिएको छैन। तर गृह मन्त्रालय स्रोतका अनुसार विभागको पत्राचारपछि उनीहरूको सम्पत्तिबारे अनुसन्धान अघि बढाइएको छ।
यसअघि जेनजी आन्दोलनका क्रममा शेरबहादुर देउवा को निवासमा नगद फेला परेको विषय सार्वजनिक भएपछि विभागले मुचुल्का उठाएको थियो। त्यस्तै गंगा दाहाल को निवास र केपी शर्मा ओली निवासमा समेत प्रारम्भिक अनुसन्धान गरिएको थियो।
उक्त घटनासँग सम्बन्धित अनुसन्धानलाई अहिले थप तीव्र बनाइएको जनाइएको छ। साथै एमाले र कांग्रेसका अन्य नेता तथा पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि पनि छानबिन गर्ने र शंकास्पद व्यक्तिहरूलाई क्रमशः नियन्त्रणमा लिने तयारी सरकारको रहेको बताइएको छ।
त्यसैगरी निजामती क्षेत्रका केही पूर्व वरिष्ठ कर्मचारीमाथि पनि अनुसन्धान अघि बढाउने तयारी भइरहेको जनाइएको छ।
