ढाका । बङ्गलादेशमा डेङ्गुका कारण ज्यान गुमाउनेको सङ्ख्या ४०१ पुगेको छ, भने एक लाख भन्दा बढी सस्यामा संक्रमित देखिएको बङ्गलादेश ंस्वास्थ्य विभागले बुधबार सार्वजनिक गरिएको तथ्याङ्कमा उल्लेख छ ।
स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) का अनुसार पछिल्लो २४ घण्टामा मात्र तीन जनाको मृत्यु भएको छ। सोही अवधिमा थप ४२१ जना नयाँ संक्रमित भेटिएका छन्। विभागका विवरणअनुसार डिसेम्बर महिनामा १९, नोभेम्बरमा १०४ र अक्टोबरमा ८० जनाको डेङ्गुका कारण मृत्यु भएको छ।
नोभेम्बर महिनामा मात्रै २४ हजार ५३५ नयाँ डेङ्गु संक्रमित दर्ता भएका थिए, भने डिसेम्बरमा हालसम्म ४ हजार ३०८ संक्रमित पाइएको विभागले जनाएको छ।
तीव्र रूपमा फैलिँदो डेङ्गु नियन्त्रणका लागि बङ्गलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको प्रजनन रोकिने उपायहरू अपनाउने, जोखिमयुक्त क्षेत्रहरूमा लार्भा नष्ट गर्ने अभियान विस्तार गर्ने तथा सार्वजनिक सचेतनामा जोर बढाउने तयारी गरेको बताइएको छ।
डेङ्गु एडिस प्रजातिको संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यसले उच्च ज्वरो, टाउको दुखाइ, मांसपेशी र जोर्नी दुख्ने, अत्यधिक थकान, बान्ता लाग्ने, चक्कर आउनेजस्ता लक्षण देखिने तथा अवस्था बिग्रँदा जीवनघातक बन्न सक्ने विशेषज्ञहरूले बताउँछन्।
