नेपाली कांग्रेसले फागुन २१ गते हुने चुनावलाई लक्ष्य गर्दै ७७ वटै जिल्ला सभापति र क्षेत्रीय कार्यसमितिलाई परिपत्र जारी गरेको छ। पार्टीलाई एकताबद्ध गर्दै चुनावी तयारीमा केन्द्रित हुन निर्देशन दिइएको छ।
परिपत्रमा विशेष महाधिवेशनमा सहभागी भएका–नभएका, सहमत भएका वा असहमत सबैलाई विधि–विधानले सुनिश्चित गरेको लोकतान्त्रिक प्रक्रियाअनुसार अघि बढ्न आग्रह गरिएको छ। जित–हारको बहसभन्दा माथि उठेर चुनावी अभियानमा सक्रिय हुन पार्टी पंक्तिलाई आह्वान गरिएको छ।
परिपत्र पार्टीका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले जारी गरेका हुन्। यसमा वर्तमान राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई अघि बढाउन पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासहित पार्टीका विभिन्न तह र निकायमा रहेका नेताहरूको साथ रहने विश्वास व्यक्त गरिएको छ।
परिपत्रमा भनिएको छ, “यस परिस्थितिमा नेपाली कांग्रेसलाई अगाडि बढाउन पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवालगायत पार्टीका विभिन्न तह र निकायमा रहनु भएका साथीहरूले यस लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा लिई पूर्ण साथ रहनेछन् भन्ने विश्वास लिएका छौँ।”
विगतका कमजोरीहरू आत्मालोचना गर्दै समीक्षा गरिएको र अहिलेसम्मका उपलब्धिलाई समयको मागअनुसार संस्थागत गर्ने संकल्प गरिएको परिपत्रमा उल्लेख छ। “अब कांग्रेस बदलिएको छ, र बदलिनेछ,” भन्ने सन्देशसमेत समावेश गरिएको छ।
हालै सम्पन्न विशेष महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा चयन भएका छन्। यद्यपि, कांग्रेसभित्र शेरबहादुर देउवा समूहले विशेष महाधिवेशनलाई अझै औपचारिक रूपमा स्वीकार नगरेको अवस्था छ।



