नेपाली दूतावास कुवेत ले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरेबिया हुँदै नेपाल फर्किन अनुरोध गरेको छ।

मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै कुवेतमा बसोबास गर्ने नेपालीहरूले साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल जान सक्ने भएकाले ‘अनलाइन’मार्फत साउदी भिसाका लागि आवेदन दिन सकिने दूतावासले जनाएको छ।

दूतावासका अनुसार भिसा प्राप्त भएपछि सडकमार्गबाट साउदी अरेबिया प्रवेश गरी त्यहाँको विमानस्थलबाट नेपालका लागि उडान लिन सकिनेछ। त्यसैले नेपाल फर्किन चाहने नेपालीलाई समयमै अनलाइनमार्फत भिसाका लागि आवेदन दिन अनुरोध गरिएको छ।

सरकारले मध्यपूर्व क्षेत्रमा देखिएको द्वन्द्वका कारण अलपत्र परेका नेपालीहरूलाई सम्बन्धित देशमा रहेका दूतावासमार्फत उद्धार गर्ने निर्णयसमेत गरिसकेको छ।

यसैबीच नेपाली दूतावास अबुधाबी ले संयुक्त अरब इमिरेट्स मा रहेका नेपालीलाई युद्धसँग सम्बन्धित दृश्यहरू खिच्ने वा सामाजिक सञ्जालमा सार्वजनिक नगर्न पनि अनुरोध गरेको छ।