चर्चित नेपाली सांगीतिक समूह नेपथ्यले न्युजिल्यान्ड भ्रमणको औपचारिक घोषणा गरेको छ। समूहले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत आगामी मे १० मा अकल्याण्ड, न्युजिल्यान्डमा सांगीतिक प्रस्तुति दिन आउने जानकारी दिएको हो।
समूहले “नेपथ्य न्युजिल्यान्ड यात्रा २०२६” शीर्षकसहित कार्यक्रमको प्रचार सामग्री सार्वजनिक गर्दै न्युजिल्यान्डमा रहेका नेपाली दर्शक तथा समुदायसँग पुनः भेट हुने जनाएको छ। यसअघि नेपथ्यले सन् २०१७ मा अकल्याण्डमा सफल सांगीतिक प्रस्तुति दिएको थियो।
नेपथ्यका सांगीतिक कार्यक्रम न्युजिल्यान्डको चर्चित इभेन्ट लाखेले आयोजना गर्न लागेको हो। कार्यक्रम आगामी मे १०, २०२६ मा अकल्याण्डमा आयोजना हुँदै छ।
कार्यक्रममा सहभागी हुनका लागि टिकट खुला गरिएको आयोजकले जनाएको छ। लाखे इभेन्ट्स तथा नेपथ्यको आधिकारिक पेजमार्फत टिकट खरिद गर्न सकिने छ। आयोजकका अनुसार यसपटक टिकट व्यवस्थापनलाई अझ व्यवस्थित बनाउन पहिलेदेखि प्रतीक्षा सूचीमा नाम दर्ता गरेका दर्शकलाई विशेष प्राथमिकता दिइनेछ।
प्रतीक्षा सूचीमा नाम दर्ता गरिसकेका व्यक्तिहरूले आफ्नो इमेलमार्फत प्रवेशपत्र खरिद गर्न सक्ने छन्। आयोजकका अनुसार यसरी प्रतीक्षा सूचीमा रहेका दर्शकलाई पहिलो अवसर दिनु कार्यक्रमको सहज सञ्चालन र दर्शकहरूको अनुभवलाई ध्यानमा राखेर गरिएको हो।
नेपथ्य नेपाली संगीत क्षेत्रमा अत्यन्त लोकप्रिय सांगीतिक समूहका रूपमा चिनिन्छ। समूहले देश–विदेशमा रहेका नेपाली दर्शकमाझ आफ्ना सांगीतिक प्रस्तुतिमार्फत विशेष स्थान बनाएको छ। न्युजिल्यान्डमा पनि नेपाली समुदायबीच नेपथ्यको प्रस्तुति प्रति ठूलो उत्साह देखिने अपेक्षा गरिएको छ।
अकल्याण्डमा आयोजना हुने यस सांगीतिक कार्यक्रमलाई नेपाली समुदायका लागि सांगीतिक उत्सवका रूपमा हेरिएको छ। यसले केवल मनोरञ्जन मात्र नभई विदेशमा रहेका नेपालीबीच सांस्कृतिक पहिचान र नेपाली गीत–सङ्गीतको प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। आयोजकले समयमै प्रवेशपत्र सुरक्षित गर्न दर्शकहरूलाई आग्रह गरेका छन्।
