निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी गरेको छ। आयोगले बिहीबार दिउँसो ४ बजे राष्ट्रपतिसमक्ष अन्तिम प्रतिवेदन बुझाउने तयारी गरेको जनाएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार आयोगले आवश्यक सबै प्रक्रिया पूरा गरी अन्तिम प्रतिवेदन पेश गर्ने तयारीमा जुटेको हो।

नेपालको संविधानअनुसार प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र राष्ट्रपतिले सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ। यसअनुसार प्रतिवेदन बुझाएपछि संसद् आह्वान तथा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ।

संविधानको व्यवस्था अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गरिनेछ। यदि कुनै दलको स्पष्ट बहुमत नभएमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने सदस्यलाई प्रधानमन्त्री बनाइने प्रावधान रहेको छ।

आयोगले अन्तिम प्रतिवेदन पेस गरेसँगै नव–निर्वाचित सांसदहरूको शपथ ग्रहण, संसदीय दलको नेता चयन तथा सरकार गठनका लागि राजनीतिक दलहरूलाई प्रक्रिया अघि बढाउने बाटो खुल्नेछ।