निपाह भाइरसको जोखिमलाई गम्भीर रूपमा ध्यानमा राख्दै न्युजिल्याण्ड सरकारले आफ्ना नागरिकहरूलाई भारत तथा एसियाली मुलुकतर्फ यात्रा गर्दा थप सतर्कता अपनाउन आग्रह गरेको छ।

न्युजिल्याण्ड सरकारको विदेश मामिला तथा व्यापार मन्त्रालयले आफ्नो सुरक्षित यात्रा सम्बन्धी सूचनामार्फत निपाह भाइरसबारे जानकारी सार्वजनिक गर्दै यस्तो आग्रह गरेको हो।

स्वास्थ्य मन्त्रालयले पछिल्ला घटनाक्रमले महामारीको सम्भावना न्यून रहेको बताए पनि भारत तथा प्रभावित क्षेत्रतर्फ यात्रा गर्नेहरूलाई विशेष सावधानी अपनाउन, स्वास्थ्यसम्बन्धी सल्लाह पालना गर्न र कुनै लक्षण देखिए तुरुन्त स्वास्थ्य सेवामा सम्पर्क गर्न अनुरोध गरेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार हाल अन्तर्राष्ट्रिय स्तरमा भाइरस फैलिने जोखिम कम छ। न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालय र राष्ट्रिय स्वास्थ्य सेवाले यस विषयमा नजिकबाट निगरानी गरिरहेको जनाएको छ। साथै, न्युजिल्याण्ड सरकारले देशमा प्रवेश गर्ने कुनै पनि अस्वस्थ यात्रुको उचित जाँच र व्यवस्थापनका लागि आवश्यक सम्पूर्ण प्रणाली तयार रहेको जानकारी गराएको छ।

भाइरसको फैलावट रोक्न एसियाका धेरै विमानस्थलहरूले अघिल्लो महामारीका समयमा जस्तै विमानस्थलमै यात्रुहरूको तापक्रम जाँच सुरु गरेका छन्। थाइल्याण्ड, सिंगापुर, हङकङ, मलेसिया र नेपालका प्रमुख विमानस्थलहरूमा यात्रु जाँच कडाइका साथ भइरहेको छ। भारतसँग जोडिएका केही स्थल नाकामा पनि स्वास्थ्य जाँच जारी रहेको जनाइएको छ। उता, भारतले भने निपाह भाइरसको अवस्था नियन्त्रणमा रहेको दाबी गरेको छ।