जापनको उत्तर–पूर्वी क्षेत्रमा सोमबार राति ७.६ म्याग्निच्युडको भूकम्प गएको छ। जापान मौसम विज्ञान एजेन्सी जेएमसीइका अनुसार भूकम्पको केन्द्रबिन्दु आओमोरी प्रिफेक्चरदेखि ८० किलोमिटर टाढा समुद्रको ५४ किलोमिटर गहिराइमा रहेको थियो।

भूकम्पका कारण सुरुमा ३ मिटर उचाइको सुनामी आउने चेतावनी जारी गरिए पनि २० देखि ७० सेण्टिमिटर उचाइका छालाहरू आएको जापानी सञ्चार माध्यमहरुले जनाएका छन् ।
जापानको भूकम्प तीव्रता मापन स्केलमा आओमोरीको हाचिनोहे सहरमा ६ रेकर्ड गरिएको छ।

भूकम्पका कारण अहिलेसम्म कुनै क्षति भएको छैन । तर, केही व्यक्तिहरू घाइते भएर अस्पताल भर्ना गरिएको जनाएको छ। प्रधानमन्त्री साने ताकाइचीका अनुसार हालसम्म सातजना घाइतेको रिपोर्ट प्राप्त भएको छ।

ईस्ट जापान रेलवेजले प्रभावित क्षेत्रमा केही रेल सेवा निलम्बन गरेको छ। भुकम्पका कारण सुरुमा हजारौं घरमा विद्युत् अवरुद्ध भए पनि अहिले त्यो संख्या सयौंमा झरेको बताइएको छ।

जेएमसीइकले आगामी केही दिनसम्म थप शक्तिशाली परकम्प आउन सक्ने सम्भावना रहेको चेतावनी दिएको छ। उत्तरदेखि चिबा प्रिफेक्चरसम्मका बासिन्दालाई एक हप्तासम्म सतर्क रहन अनुरोध गरिएको छ। जापान विश्वका सबैभन्दा भूकम्पप्रवण देशमध्ये एक हो, जहाँ ६.० वा सोभन्दा माथिका लगभग २० प्रतिशत भूकम्पहरू हुने गर्छन्।

सन् २०११ मा उत्तरी सेंडाइ नजिक गएको ९.० म्याग्निच्युडको विनाशकारी भूकम्प र सुनामीमा करिब २०,००० मानिसको मृत्यु भएको थियो।